इजरायल र हमासबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको घोषणा,  सबै बन्दी रिहा गरिने

लोकपथ
483
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेका छन् । आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमार्फत उनले अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा उनीहरूले हस्ताक्षर गरेको घोषणा गरेका हुन् । उनले अब सबै बन्धक चाँडै रिहा हुने र इजरायलले आफ्ना सेना फिर्ता बोलाउने पनि बताएका छन् । 

ट्रम्पले लेखेका छन्, ‘यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउनेछ । यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

अमेरिकी अधिकारीका अनुसार यो सहमति इजरायली क्याबिनेटले अनुमोदन गरेपछि ७२ घण्टाभित्रै बन्धकहरू रिहा गरिनेछन् । वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एन १२ न्युजले इजरायली क्याबिनेटले शान्ति सम्झौतालाई अनुमोदन गरेपछि ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिने बताएको छ ।

ट्रम्पले यो सम्झौता अरब र मुस्लिम देश, इजरायल तथा यसका सबै छिमेकी र अमेरिकाको लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन भएको पनि उल्लेख गरेका छन् ।  यस विषयमा मध्यस्थता गरेकोमा कतार, इजिप्ट र टर्कीलाई उनले धन्यवाद दिएका छन् । 

हमासको कब्जामा एक नेपाली विपिन जोशीसहित २० जना जीवित बन्धक रहेको अनुमान गरिएको छ । ट्रम्पले भनेअनुसार हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि छाडिनेछन् ।

बुधबार राति मात्रै विपिन जोशी बोलिरहेको पुरानो भिडिओ सार्वजनिक भएको छ । योसँगै उनी जीवितै रहेको आशा गरिएको छ। तर भिडिओ दुई वर्ष पुरानो भएकाले उनको वर्तमान अवस्था अझै स्पष्ट भइसकेको छैन ।  

उता, हमासले गाजा युद्धविराम योजना सम्झौताको एक अंगको रूपमा रिहा गरिने प्यालेस्टिनी बन्दीहरूको सूची हस्तान्तरण गरेको बताएको छ । हमासका वरिष्ठ अधिकारी जाहर जबारिनले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘हमासले सम्झौताको प्रावधानअनुसार सहमति भएका मापदण्डहरूको पालना गर्दै प्यालेस्टिनी बन्दीहरूको सूची हस्तान्तरण गरेको पुष्टि गर्दछ ।’

यसअघि, हमासका अर्का अधिकारी ताहेर अल–नुनुले हमास र इजरायलबीच रिहा गरिने बन्धक र बन्दीहरूको सूची पहिल्यै आदानप्रदान भइसकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?