काठमाडौं । हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीबारे भिडियो सार्वजनिक हुने भएको छ ।
इजरायली मिडियाले विपिन जिवितै रहेको दाबी गर्दै उनको भिडियो सार्वजनिक समेत गर्न जनाएको हो ।
इजरायली खुफिया इकाइहरूले विपिन जीवित रहेको भन्दै भिडियो सार्वजनिक गर्न लागेको होस्टेज फ्यामिली फोरमले बुधबार जानकारी दिएको द जेरुसेलम पोष्टले जनाएको छ ।
इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।
उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो । ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।
हमास समूहले बन्धक बनाएपछि अन्तर्राष्ट्रियस्तरमा समेत विपिनबारे चासो बढिरहेको छ । केही समयअघि हमासले सार्वजनिक गरेको बन्धकहरुको तस्बिरमा विपिनको समेत तस्बिर देखिएपछि थप चासो बढेको थियो । त्यसमा अन्य अपहरणमा परेको व्यक्तिहरु समेत रहेका थिए । तर विपिन जीवित वा मृत कुन अवस्थामा छन् भन्ने कुनै खुलाइएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया