पाकिस्तानमा हिंसाको घटनाहरू बढ्दै, तीन महिनामा ९०१ जनाको मृत्यु

लोकपथ
588
Shares

इस्लामाबाद । पाकिस्तानमा पछिल्लो तीन महिनामा हिंसाका घटनाहरू बढ्दा कम्तीमा ९०१ जनाको मृत्यु भएको छ भने ५९९ जना घाइते भएका छन् ।

सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (CRSS) ले प्रकाशित गरेको प्रतिवेदन अनुसार, जुलाईदेखि सेप्टेम्बरसम्म देशमा ३२९ हिंसाका घटनाहरू भएका थिए । यो अघिल्लो तीन महिनाको तुलनामा ४६ प्रतिशत बढी हो । यस वर्ष अहिलेसम्म पाकिस्तानमा दुई हजार ४१४ जनाको मृत्यु भइसकेको छ, जुन गत वर्षको सम्पूर्ण वार्षिक मृत्युसँग लगभग बराबर हो । विशेषज्ञहरूले २०२५ लाई दशककै सबैभन्दा घातक वर्षमध्ये एक बन्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिवेदनले हिंसाको ढाँचामा पनि परिवर्तन आएको देखाएको छ । गत वर्ष अधिकांश मृत्यु आतंकवादी आक्रमणका कारण भएको भए पनि यस वर्ष आधाभन्दा बढी मृत्यु सेना र प्रहरीको कारबाहीबाट भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको मृतकमध्ये ५७ प्रतिशत आतंकवादी, २४ प्रतिशत नागरिक र १८ प्रतिशत सुरक्षाकर्मी छन् ।

क्षेत्रीय रूपमा खैबर पख्तुनख्वा (KP) र बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन् । KP मा ६३८ जनाको मृत्यु भएको छ भने बलुचिस्तानमा २३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तमा पनि हिंसा बढेको छ । अघिल्लो अवधिमा ८ जनाको मृत्यु भएकोमा यस पटक २१ जनाको मृत्यु भएको छ ।

सर्वसाधारणको मृत्यु बढिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । गत हप्ता KP को तिराह उपत्यकामा वायुसेनाको आक्रमणमा महिला र बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । पाकिस्तान प्रशासित जम्मू–काश्मीरमा भ्रष्टाचार र खराब जीवन अवस्थाविरुद्ध प्रदर्शन गर्दा कम्तीमा १० प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रतिवेदनले आतंकवादी आक्रमणमा सर्वसाधारणलाई मुख्य लक्ष्य बनाइएको जनाएको छ। यस अवधिमा १२३ आक्रमण सर्वसाधारण, १०६ सुरक्षा फौज र करिब १०० आतंकवादीलाई लक्षित गरेर गरिएको थियो। घाइतेमध्ये ३५५ सर्वसाधारण, २०९ सुरक्षाकर्मी र ३५ आतंकवादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?