बाँकेको बाल सुधार गृहबाट भागेकामध्ये ४५ जना अझै फरार

लोकपथ
77
Shares

नेपालगञ्ज  ।  बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् ।

फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधार गृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । उनले  २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारी दिँदै फरार भएकालाई पक्राउ गर्न  अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताए । 

‘केही अभिभावकले सम्पर्कमा छन् पनि भन्नुभएको छ तर सम्पर्कमा आएको देखिएन, ‘उनले भने । फरार भएकाहरू १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्ता बाल सुधार गृहमा १२२ बालबन्दी रहेका छन् । 

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । 

प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले दसैँमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।   

नौबस्ता बाल सुधारगृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदी बन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भई सक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ । 

सो समयभित्र बाल सुधार गृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबन्दी र फरार थुनुवाको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्रीको नेतृत्वमा कार्यदल निर्माण भएको जानकारी दिए । 

उनले फरार भएकाको खोजीका लागि स्थानीय तहलगायतका स्थानमा पत्राचार भएको उल्लेख गर्दै प्रहरीले पनि आन्तरिक रूपमा खोजतलास गरिरहेको बताए ।  ‘आजै मात्रै पनि एक जना सम्पर्कमा आएको छ, केही दिनमा उनी कञ्चनपुरबाट आउँदै छन्, ‘उनले भने ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?