काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी र पहिरोले भत्किएका वा बगाएका सबै घरहरू पुनर्निर्माण गर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर निर्माण कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले विपद् प्रभावित इलाम, झापा र मोरङका घरहरू प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ ।
बैठकले इलाम जिल्लाका सात वटा पालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । राहत र पुनर्निर्माणको समन्वयका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी जिम्मेवारीमा नियुक्त भएका छन् ।
सुनसरी जिल्लामा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी समन्वयमा काम गर्नेछन् भने झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आवश्यक समन्वय र पुनर्निर्माणको जिम्मा पाएका छन् ।
बैठकले चालु बजेटका खर्च र योजनाहरू कटौती गरी पुनर्निर्माणमा खर्च गर्ने सिफारिस गर्दै भौतिक पूर्वाधार मन्त्रालयलाई सबै खालका बाटोहरू तुरुन्त खुलाउन संयन्त्र परिचालन गर्न निर्देशन दिएको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुनर्निर्माण र राहत कार्यमा कुनै कसर नछोडी काम अघि बढाउन बैठकलाई निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया