काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारी गरिरहेको बताएका छन् ।
बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद् पुनर्स्थापनाको माग पार्टीले आधिकारिक रूपमा अघि बढाउने वा कानुन व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा अन्तिम छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘संसद् पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं। पार्टीले आधिकारिक ढंगले जाने वा कानुन व्यवसायीमार्फत जाने। त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं। यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरूले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैलाइएको छ ।’
बस्नेतले जेनजी पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्धको मागमा पूर्ण समर्थन रहने स्पष्ट पार्दै भने, ‘अब हामीले तपाईँहरूको नाम ‘डिजिटल जेनेरेशन’ राखिदियौँ। भ्रष्टाचार रोक्ने तपाईँहरूको मागलाई हामी पूर्ण साथ दिन्छौँ। भ्रष्टाचार विरुद्ध निष्पक्ष छानबिन समिति बनाएर छानबिन गर्ने कुरामा पुराना दल, नेकपा एमाले वा हामीमाथि पनि तपाईँहरूको आशंका छ भने हामी छानबिनको दायरामा आउन तयार छौँ ।’
उनले जेनजी पुस्ताको नाममा सरकारमा गएका व्यक्तिहरू पनि भ्रष्ट भएर नभएको छानबिन गर्नुपर्ने माग गरे। बस्नेतले भने, ‘रगतमा होली खेलेर घाइते भएकाहरूको बैसाखी टेकेर अहिले सरकारमा गएर तपाईँहरूलाई उचाल्ने हरेक व्यक्तिको पनि छानबिन हुनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया