काठमाडौं । गत वर्षजस्तै यस वर्ष पनि मनसुनको अन्त्यतिरको भारी वर्षाका कारण काठमाडौं सहित मधेस र कोसी प्रदेशका जिल्लाहरुमा ठुलो जनधनको क्षति भएको छ । मनसुन बाहिरिने समयमा लगातार दुई वर्ष उही समय र उही प्रकृतिको वर्षाका कारण मुलुकले डुबान, बाढी र पहिरोको सामना गर्नुपर्यो ।
गत वर्षजस्तै यस वर्ष पनि मौसम पूर्वानुमानको प्रक्षेपण झन्डै एक साता अघिदेखि नै गरिएको थियो । सम्भावित क्षति न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग लगायत सरकारका संयन्त्रहरूको सक्रियता प्रभावकारी देखियो । यस पटक समग्र विपद् व्यवस्थापनमा सरकारका निकायहरूको समन्वय र सहकार्य एकीकृत देखिएको थियो । विपद् पूर्व, विपद्को समयमा र विपद्पछिको प्रतिकार्यका लागि सरकारले देखाएको सक्रियताको प्रशंसा भइरहेको छ ।
यद्यपि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार काठमाडौंमा वर्षा नभएको र इलाममा पूर्वानुमान भन्दा बढी वर्षा भएर ठुलो मानवीय क्षति भएको सन्दर्भलाई लिएर विभागको पूर्वानुमानमा प्रश्न उठेको छ । यस सम्बन्धमा विभागले वर्षा गराउने प्रणालीको विस्तृत अध्ययन पछि मात्रै भन्न सकिने बताएको छ ।
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.मदन सिग्देलका अनुसार पानी पार्ने प्रणाली काठमाडौंबाट छिटो सरेका कारण प्रक्षेपणभन्दा कम वर्षा भयो । त्यस्तै, इलाममा पनि विभागको फोरकास्टमा करिब ३ घण्टाको फरक देखिएको उनले बताए ।
डा.सिग्देलका अनुसार जल तथा मौसम विज्ञान विभागको तीनदिने मौसम पूर्वानुमान सटिक भए पनि तीन घण्टाअघि नै मौसमी प्रणाली मध्य नेपालबाट पूर्वतिर सरेको थियो । मौसम प्रणालीको अनपेक्षित परिवर्तनले कहिलेकाहीँ पूर्वानुमान सही नहुने वा केही तलमाथि पर्न सक्ने उनले बताए ।
उनका अनुसार विभागले शनिबार, आइतबार र सोमबारको फोरकास्टिङ सार्वजनिक गरेको थियो । उक्त बुलेटिनअनुसार शनिबार काठमाडौंसहितका क्षेत्रमा वर्षा हुने र आइतबार बिहान मात्र मौसमी प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने अनुमान गरिएको थियो । तर वास्तवमा शनिबारदेखि आइतबारसम्म रौतहट, गौर, महेशपुर तथा वीरगञ्ज क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भयो ।
डा.सिग्देलका अनुसार यस पटकको वर्षा प्रणाली ‘डिप्रेशन सिस्टम’मा विकसित भएको साइक्लोनिक सर्कुलेसनसँग सम्बन्धित थियो । सो प्रणाली बलियो भएकाले लगातार वर्षा भयो । उनले भने, ‘तल्लो तहमा आवश्यक परिमाणको आपूर्ति मध्यम मात्र भएकाले प्रणाली लामो समय स्थिर रहन सकेन । त्यसैले विभागले प्रक्षेपण गरेभन्दा अगाडि नै मौसमी प्रणाली पूर्वी क्षेत्रमा सरेको हो ।’
डेढ किलोमिटर माथिको हावाको तहमा सुख्खा र चिसो हावाको प्रभाव परेकाले प्रणाली अपेक्षाभन्दा चाँडै पूर्वतिर सरेको उनको भनाइ छ । उनले भने, ‘मौसमी प्रणालीको निरन्तर निगरानी गरेर सूचनाहरू दिने कार्य भइरहे पनि शनिबार मध्यराति मात्र प्रणाली पूर्व सरेको कारण समयमै सूचना सम्प्रेषण हुन सकेन ।’
वार्मर मोइस्चर र कुल ड्राइ एअर आपसमा ठोक्किँदा प्रणाली छिट्टै सरेको र त्यसले विभागको पूर्वानुमानमा केही समय फरक पारेको उनले बताए । यसले विपद् व्यवस्थापनको तयारीमा समेत असर पारेको उनको भनाइ छ ।
डा.सिग्देलले थपे, ‘हामीले शनिबार बिहानदेखि आइतबार विहानसम्म इलामको हिमाली गाउँमा धेरै वर्षा हुने भनेका थियौँ, सोहीअनुसार भएको देखिन्छ । तर मौसमी प्रणाली विभागले अनुमान गरेभन्दा करिब तीन–चार घण्टा अगाडि पूर्वतिर प्रवेश गर्यो । यसमा तल्लो तहको मोइस्चर सप्लाई मध्यम रूपमा मात्र भएको र लोअर लेभल जेडमा सुख्खा र चिसो हावाले ‘पुस’ गरेकाले प्रणाली छिट्टै बाहिरियो ।’
उनका अनुसार भारतको उडिसा क्षेत्रमा विकसित प्रणाली नेपाल आइपुग्दा डिप्रेशन प्रणालीमा परिणत भएको हो । ‘मौसमी प्रणाली स्थिर नभएकाले यसको निरन्तर अनुगमन गर्नुपर्ने हुन्छ । अप लेभल सिस्टमले लोअर लेभल सिस्टमलाई कत्तिको सहयोग गरिरहेको छ भन्ने कुरा पनि फोरकास्टिङमा ध्यान दिनुपर्छ,‘उनले थपे ।
उनले भने, ‘पूर्वानुमानमा तीन–चार घण्टाको अवधि मिलाउन पाएको भए विपद् व्यवस्थापनमा देखिएको समस्या आउने थिएन । मौसम राति सरेको कारण विभागले प्रभावकारी अनुगमन गर्न नसकेको पनि हुनसक्छ ।’
जलवायु विज्ञ डा.सिग्देलले जल तथा मौसम विज्ञान विभागको रियल–टाइम अनुगमन प्रणाली अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘ऋतुगत मौसम पूर्वानुमान (सिजनल फोरकास्टिङ) विश्वभर स्टाटिस्टिकल, डायनामिकल र हाइब्रिड विधिमा हुन्छ, तर नेपालमा अझै स्टाटिस्टिकल मोडेल प्रयोग भइरहेको छ ।’
मौसम विज्ञान विभागले हाल ६र६ घण्टामा मौसम पूर्वानुमानको बुलेटिन निकाल्दै आएको छ । इलामको घटनाबाट गणितीय मौसम पूर्वानुमान पद्धतिलाई छोटो अवधिमा नै अपडेट गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । भविष्यमा यो प्रणाली छोटो बनाउन नसकिए विभागको सूचनामाथि विश्वसनीयता घट्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया