नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँ : डा.प्रकाशचन्द्र लोहनी

लोकपथ
280
Shares

 काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीमार्फत देशलाई अघि बढाउन ढिला गर्न नहुने बताएका छन् । 

विगतमा आएका राजनीतिगत पुँजी र वैधताको दुरुपयोगले वर्तमान संकट निम्त्याएको भन्दै उनले सबै शक्तिहरूले मिलेर राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएका छन् ।

विपी कांग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै लोहनीले भने,‘ जनताले दिएको वैधता र राजनीतिक पुँजीको सही सदुपयोग गर्न नसक्दा अहिलेको अवस्था आएको हो ।’ उनले जेनजीको आन्दोलनबाट सिर्जित ऊर्जालाई सकारात्मक दिशामा लैजान नसके नेपाल विदेशी शक्तिहरूको क्रिडास्थल बन्न सक्ने चेतावनीसमेत दिएका हुन् ।

लोहनीले  भने, ‘अब विकासको सुरुवात भयो, राजनीतिक अस्थिरताको अन्त्य भयो भनेर भन्नेहरू अहिले कहाँ छन् । जनता त २०८२ लाई पनि कुर्न तयार भएनन् । तिमीहरूले जे भनेका थियौ त्यसको बेइमानी गर्‍यौ । जनताले दिएको पुँजी र वैधताको सदुपयोग हुन सकेन दुरुपयोग भयो ।’ उनले जेनजीको आन्दोलनको पृष्ठभूमि र त्यसले उक्साएको ऊर्जालाई सकारात्मक रूपमा काममा लगाउन सबै दलहरूलाई आग्रह गरे ।

उनले थपे, ‘जेनजीको आन्दोलन नआएको भए अरू कसैको आन्दोलन आउँथ्यो। यसबाट निस्किएको ऊर्जालाई सकारात्मक रूपमा लैजाने कि नेपाललाई विदेशीको क्रिडास्थल बनाउने ? यस्तो समस्या आएपछि विदेशीहरू आफ्नो चलखेल सुरु गर्दछन्। विपीले भन्नुभएको जस्तै सहमति र समझदारीमा देशलाई लैजानुपर्छ। नेपालमा भएका सबै शक्तिहरूले हामीलाई जोड्ने केले हो भनेर खोज्नुपर्छ ।’

डा.लोहनीले पार्टी भन्दा देश ठुलो भन्ने सोचका साथ सबैले कम्प्रोमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपालको एकता र समृद्धिका लागि राजनीतिक दलहरू तथा संवैधानिक राजसंस्था जोड्ने शक्तिको रूपमा रहेका कुरा स्वीकार्नेतर्फ पनि जोड दिए।

विपी कांग्रेसद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न पार्टीका नेताहरू र नागरिक अभियन्ताहरूले भाग लिएका थिए र समसामयिक राजनीतिक अवस्थाबारे खुल्ला छलफल गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?