काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै विश्व बैंकले आगामी आर्थिक वर्ष ०८२/८३ मा २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको हो ।
हालै भएका आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ५.२ प्रतिशत र त्यसपछिको वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो, तर पछिल्लो परिस्थितिलाई निहाली त्यसलाई घटाएको हो ।
पछिल्ला आन्दोलनहरूलाई विश्व बैंकले शासन प्रणालीप्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रूपमा अर्थ्याएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, व्यवसायिक वातावरण बन्न नसक्दा छिमेकी मुलुकहरूमा जस्तो विकास नेपालमा हुन नसकेको विश्व बैंकको ठहर छ ।
प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा औँल्याएको छ ।
विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले प्रतिवेदनमा भनेका छन्, ‘दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ । एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।’
विश्व बैंकका अनुसार, सेवा क्षेत्रमा तुलनात्मक रूपमा कम शुल्क भएकै कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै, चरणवद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्न सके निजी लगानी र रोजगारी दुवै बढ्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकका अनुसार दक्षिण एशियाको आर्थिक वृद्धि यस वर्ष ६.६ प्रतिशत हुनेछ । प्रतिवेदनअनुसार सन् २०२६ मा दक्षिण एशियाको वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो प्रक्षेपणभन्दा ०.६ प्रतिशत कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया