छिनछिनमा बत्ती जाने समस्या तत्काल समाधान गर्न उर्जामन्त्रीको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकास मन्त्री कुलमान घिसिङले देशभर छिनछिनमा बत्ती जाने समस्या हटाउन निर्देशन दिएका छन् ।

मन्त्री घिसिङले सोमबार साँझ नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्दै बाढी र पहिरोले क्षति पुर्‍याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालु गर्न आवश्यक रहेको बताए । उनले मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न र विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालनमा राख्न आग्रह गरे ।

साथै, उनले विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएका मर्स्याङ्दी करिडोर २२० केभी र हेटौँडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिए । आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा ध्यान दिन पनि मन्त्री घिसिङले जोड दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक सुरेन्द्र सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात तथा प्रणाली सञ्चालनको अवस्था र समस्या सम्बन्धी जानकारी दिए । कार्यकारी निर्देशक सिलवालले बाढी र पहिरोले क्षति पुर्‍याएका संरचना मर्मत गरी विद्युत् सेवा चालु गर्न टोली तयारी अवस्थामा रहेको जानकारी पनि दिएका छन् ।

मन्त्री घिसिङले यस अवसरमा देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली, ग्रिड सञ्चालन, विद्युत् माग–आपूर्ति व्यवस्थापन र विद्युत् निर्यात लगायतका विषयमा विस्तृत जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?