अख्तियार प्रमुख राईमाथि जेनजी समूहका ३ आरोप :  भुटानी नक्कली शरणार्थी, वाइडबडी, र निगमको जग्गा घोटाला

लोकपथ
1.1k
Shares

काठमाडौं । जेनजी युवाहरूको एक समूहले आज (मंगलबार) बिहान प्रमुख आयुक्त प्रेमकुमार राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाउँदा राईमाथि तीन वटा आरोप लगाइएको छ । 

‘जेन–जेड मुभमेन्ट अलायन्स’को नाममा बुझाइएको दबाबपत्रमा राईमाथि नक्कली भुटानी शरणार्थी प्रकरणसहित ३ आरोप लगाइएको छ । जसमा नक्कली भुटानी शरणार्थी प्रकरणका अलावा नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण पनि उल्लेख छ । 

अलायन्सले देशभरका ३९ जिल्लाका १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित यो निवेदन बुझाएको जनाएको छ ।

जसमा भनिएको छ, ‘वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जने–जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुन् भन्नेबारे यहाँलाई अवगतै छ । यी मागहरू पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगायत अरू सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ । साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ । यसले भ्रष्टाचार अन्त्य र दोषीलाई कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन । यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ ।’ 

वाइडबडी विमान खरिदको प्रक्रिया सुरु गर्ने बेला राई पर्यटन मन्त्रालयको सचिव थिए । विशेष अदालतले वाइडबडी घोटालाको फैसला गर्दा राईमाथि ‘चयनात्मक अभियोजन’ गरेको भन्दै नैतिक प्रश्न उठाएको थियो ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणको बेला राई गृहसचिव थिए ।

राईको निष्पक्षतामा पहिलैदेखि प्रश्न उठिरहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

महाभियोग लगाएर हटाउन संसद् नरहेकाले प्रमुख आयुक्त राईसहित आयुक्तहरूको राजीनामा अति आवश्यक रहेको जेनजी समूहको भनाइ छ ।

ज्ञापनपत्र बुझाउन गएका जेनजी अगुवा रिजन राना मगरले ३ प्रकरणमा राईको प्रत्यक्ष र नियामकीय संलग्नता रहेको आफूहरूको निष्कर्ष रहेको बताए । 

अख्तियारमा दबाबपत्र दर्ता गराएपछि जेनजी नेतृ वनिकाले नैतिकताको आधारमा राईले राजीनामा दिने विश्वास गर्दै नदिए थप कार्यक्रम घोषणा गर्ने बताइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?