काठमाडौं । जेनजी युवाहरूको एक समूहले आज (मंगलबार) बिहान प्रमुख आयुक्त प्रेमकुमार राईसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सबै आयुक्तको राजीनामा माग्दै अख्तियारकै कार्यालयमा दबाबपत्र बुझाएका छन् । आज बिहान आयोगको टंगालस्थित कार्यालय पुगेर उनीहरूले ‘जेन–जेड मुभमेन्ट अलायन्स’को नाममा दबाबपत्र बुझाएका हुन् ।
अख्तियार प्रमुख राईलाई सम्बोधन गर्दै बुझाइएको दबाबपत्रमा विषयमा ‘राजीनामा दिनका लागि आग्रह तथा दबाबपत्र’ लेखिएको छ ।
अलायन्सले देशभरका ३९ जिल्लाका १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित यो निवेदन बुझाएको जनाएको छ।
जसमा भनिएको छ, ‘वि.सं. २०८२ साल भाद्र २३ गतेबाट जने–जीद्वारा सुरु गरिएको आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुन् भन्नेबारे यहाँलाई अवगतै छ । यी मागहरू पुरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीहरूको नियुक्ति गर्न आवश्यक छ । तपाईंलगायत अरू सम्पूर्ण आयुक्तको नियुक्ति संसदीय सुनुवाइबिना नै पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले अध्यादेश जारी गरी निरंकुश ढंगले भएको छ । यसले तपाईंको निष्पक्षतामा ठूलो प्रश्न उठाउँछ ।
साथै तपाईंका कार्यहरू राजनीतिक रूपमा पक्षपाती छन् भन्ने आलोचना पनि प्रशस्तै छन् र तपाईंको आफ्नै नाम वाइडबडी घोटालालगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा मुछिएको पनि छ । विशेष अदालतले समेत स्पष्ट रूपमा तपाईं र सिंगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यप्रणालीमाथि प्रश्न उठाएको छ । यसले भ्रष्टाचार अन्त्य र दोषीलाई कारबाहीलगायतका सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ भन्ने अनुमान गर्न गलत नहोला । तपाईंको नेतृत्वमा यी कार्यहरू निष्पक्ष रूपले हुनसक्ला भन्नेमा कुनै विश्वसनीय आधार छैन ।
यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्ट्राचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको शहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ ।’
पत्रको बोधार्थ प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, अख्तियारका सबै आयुक्तहरूलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया