काठमाडौं । गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका हुन् । उनले बाढी, डुबान र पहिरोजस्ता विपद्पछि पानीमा डुब्ने, पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उल्लेख गरे ।
उनले विपद्का कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि बताए । उनले विपद्पछिको खानपानका कारण स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जनचेतनामूलक सामग्रीहरु प्रसारण तथा प्रकाशन गरिरहेको पनि बताए ।
स्थानीय तहमा २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रीहरू प्रसारण र प्रकाशन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई समेत स्वास्थ्य समस्याको रोकथाममा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको बताए । उनले विभिन्न संघसंस्था र जनप्रतिनिधिहरूलाई समेत राहतस्वरुप वितरण गर्ने खानेकुराबाट दीर्घकालीन रुपमा पर्न सक्ने असरहरूबारे विचार गर्न आग्रह गरे ।
गत शुक्रबार र शनिबारको बाढीका कारण पूर्वी नेपालमा ठूलो जनधनको क्षति पुगेको छ । कयौँ घरपरिवार विस्थापित भएका छन् । वर्षापछि आएको बाढी पहिरो तथा डुबानमा परेकाहरुको उद्धार गरी नजिकका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया