रौतहट । नुहाउन गएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ भने अर्का दुई बालिका बेपत्ता भएका छन् ।
राजपुर नगरपालिका–८ बलुवा गोठटोलका १० वर्षीय अरवाज मियालाई दिउँसो करिब २ बजेतिर घर नजिकको बकैया खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका निरीक्षक पूर्णबहादुर तामाङ नेतृत्वको टोलीले करिब ४० मिनेटपछि बालकलाई फेला पारेको थियो । उनलाई राजपुर प्राथमिक उपचार केन्द्रमा पुर्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।
यसैबीच, आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी दिउँसो सवा २ बजेदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
उनीहरू आफ्नै खेतको भँगालोमा नुहाउन गएका थिए र हाल प्रहरी तथा स्थानीयले खोजी कार्य तीव्र रूपमा अघि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया