धनुषा । तीन दिन लगातार परेको अविरल वर्षा रोकिएसँगै धनुषाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आइतबार रातिदेखि वर्षा रोकिएर सोमबार बिहानदेखि घाम लागेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका तरकारी व्यवसायी जीवछ साहका अनुसार लगातार वर्षाका कारण बजार सुनसान बनेको र करिब २० हजार रुपैयाँ बराबरको फलफूल तथा तरकारी कुहिएको थियो । ‘निरन्तर वर्षा भइरहँदा बाहिरी कामकाज गर्न सकेनौँ, बल्ल घाम लागेपछि राहत महसुस भएको छ,‘उनले भने ।
वर्षा रोकिएर मौसम सफा बनेपछि बजारमा चहलपहल बढेको छ । स्थानीय गृहणी ज्योति गुप्ताले घाम लागेपछि घरका कपडा सुकाउन र बिस्कुन सुकाउन सजिलो भएको बताइन् । दसैँको अवसरमा मान्यजनकहाँ टीका–जमरा लिन जान नसकेका स्थानीय अहिले मौसम खुल्दै गएपछि यात्रामा निस्किन थालेका छन् । बस बिसौनीहरूमा यात्रुको भीड देखिएको छ ।
मौसमविद्हरूका अनुसार अब क्रमशः मौसम सफा हुँदै जाने र तापक्रम घट्दै जाने अनुमान गरिएको छ, जसले प्रचण्ड गर्मीबाट समेत राहत दिलाउनेछ ।
क्षीरेश्वरनाथ–१ रमदैयाकी किसान अनितादेवी यादवले झरीले खेतीपातीमा असर पुगेको बताउँदै भनिन्, ‘अब घाम लागेपछि खेत गोडमेल र बस्तुभाउ चरण गर्न पाइने आशा पलाएको छ ।’
रमदैयाका अर्का किसान उमेश यादवले पनि मौसममा सुधार आएपछि तरकारीबारी गोडमेल गर्न अनुकूल भएको बताए । त्यसैगरी, पशुपालक किसानहरूले पनि अब गाई, भैँसी र बाख्रा गोठबाहिर निकाल्न पाएका छन् ।
लुगा धुने व्यवसाय गर्ने धोबीहरू पनि वर्षा रोकिएसँगै खुसी देखिएका छन् । क्षीरेश्वरनाथ–५ का अमिन साफीले भने, ‘धेरै दिनदेखि ग्राहकले दिएका लुगा धुने अवसर थिएन, अब भने काम गर्न पाइने भयो ।
तीन दिनको लगातार वर्षाले प्रभावित जनजीवन अहिले बिस्तारै सहज बन्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया