काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आफूहरूले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताएका छन् ।
उनले यही असोज २६ गतेदेखि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिए ।
देश हाल प्रतिकूल र पीडादायी अवस्थामा रहेको बताउँदै उनले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि लैजाने बताए । उनले जेनजी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको उल्लेख गरे ।
कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली कांग्रेसकै काँधमा आएको रायमाझीको भनाइ छ । कांग्रेस ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान कांग्रेसले खोज्न सक्नुपर्ने र यो कांग्रेसको दायित्व पनि रहेको उनको भनाइ छ ।
उनका अनुसार, केन्द्रीय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुनेछ ।
रायमाझीले भने, ‘नेपाली कांग्रेसको यही असोज २६ गते बैठक छ । देश अत्यन्त प्रतिकुल अवस्थामा छ । देश जलेकै छ भन्नुपर्यो । नागरिक मारिएका छन्, युवा, विद्यार्थी, बच्चाहरु मारिएका छन् । राज्यका संयन्त्र भत्किएका छन्, जलेका छन् । सुरक्षाकर्मीहरु पनि मारिएका छन्, अरु सर्वसाधारण पनि मारिएका छन् । यो अत्यन्त दुःखद् अवस्था छ । नेपाली कांग्रेस मुख्य पार्टी भएको कारणले यसको जिम्मेवारी पनि कांग्रेस पार्टीमै बढी छ । उत्पन्न परिस्थितिको समाधान गर्नसक्नु कांग्रेसको दायित्व हो । २६ गतेको बैठकले नयाँ ढंगले कांग्रेसलाई कसरी परिस्कृत गर्ने, परिमार्जित गर्ने र नयाँ चुनौतीको सामना कसरी गर्ने भन्ने कुरामा हामी गम्भीर रूपमा छलफल गरिरहेका छौँ । वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहन्छौँ । परिवर्तन गरेर नयाँ ढंगले, नयाँ ऊर्जा र उत्साहका साथ कांग्रेसलाई अगाडि लैजाने हाम्रो सोच छ । त्यसै अन्तर्गत हामी निर्णय गर्छौँ ।’
बाढी-पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै उनले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गरे । तर उनले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिए ।
‘हामी नेपाल’ नामक एनजीओका सुधन गुरुङले राष्ट्रिय विपद् प्राधिकरणको बैठकमा सहभागी भएर सरकारी अधिकारीसँग ब्रिफिङ लिएर निर्देशन दिएको प्रसङ्ग उठाउँदै रायमाझीले संवैधानिक रूपमा सरकार सञ्चालन हुनुपर्नेमा सचेत गराए ।
उनले भने, ‘बाढी-पहिरोको दुःख छ । सरकारले जे जति गरिरहेको छ, त्यसको लागि धन्यवाद छ । तर सरकार सञ्चालन वैधानिक तरिकाबाट, वैध मानिसबाट हुनुपर्छ । असंवैधानिक शक्ति केन्द्रहरू हाबी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्छ । अहिले त बाढी-पहिरोको नाममा छ, भोलि विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि उनीहरूको हस्तक्षेप बढ्न सक्छ । त्यतिबेला राज्य फेलिअर स्टेजमा जान्छ । त्यसैले वर्तमान सरकारको नेतृत्व सतर्क र सचेत हुनुपर्छ ।’
रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारलाई आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा पनि बल दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया