बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा फरार रहेका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना जेन जी आन्दोलनको मौकामा जेलबाट फरार भएकाहरू समेत छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार प्रेस विज्ञप्तिमार्फत विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४ जनालाई पक्राउ गरी कारागार तथा सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दिपक पातलीले कारागारबाट भागेका दुई जना र ज्यान मार्ने उद्योगको फरार प्रतिवादी एक जना र लागू औषध मुद्दामा सजाय सुनाइएकी एक जनालाई पक्राउ गरिएको बताए ।
बाँके प्रहरीले गत भदौ २४ गते भएको जेन जी आन्दोलनपछि नौबास्ता कारागारबाट भागी फरार भएका बाँकेको नेपालगन्ज उपमहानगरपालिका ९ बाँके गाउँका २६ वर्षीय हरकेश खटिकलाई असोज १८ गते पक्राउ गरेको हो । उनी ज्यान मार्ने उद्योगका प्रतिवादी हुन् ।
त्यसै गरी लागू औषध मुद्दामा ५ वर्ष ६ महिना कैद तोकिएका खजुरा गाउँपालिका ६, सिमलघारीका २३ वर्षीय मनोज चँदरालाई पनि असोज १९ गते पक्राउ गरी नौबास्ता कारागारमा बुझाइएको छ ।
त्यसै गरी ज्यान मार्ने उद्योगमा असोज १२ गते मुगु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका मुगुको सोरु गाउँपालिका ३ का ४५ वर्षीय डिल बहादुर धामीलाई पक्राउ गरी मुगु पठाइएको छ । उनलाई असोज १८ गते बाँकेको कोहलपुर नगरपालिका ३ मैटहवाबाट पक्राउ गरिएको हो ।
त्यसै गरी लागु औषधको मुद्दामा ४ वर्ष १ महिना कैद तोकिएकी खजुरा गाउँपालिका ४ डि गाउँकी २० वर्षीय गंगा कुमारी खड्कालाई पनि पक्राउ गरिएको छ । खड्कालाई लागू औषधको मुद्दामा बाँके जिल्ला अदालतले ४ वर्ष १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । २०८१ जेठ २६ गते नै फैसला भएको भए पनि खड्का फरार रहेकामा बाँके प्रहरीले खड्कालाई पक्राउ गरी कारागार कार्यालय पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया