‘वर्षा रोकिए पनि सडक क्षति र पहिरोको जोखिम अझै कायम छ’

लोकपथ
91
Shares

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले नेपालमा मनसुन अन्त्यतिर पुगेको जनाएका छन् । तर वर्षा रोकिन थालेपनि सडक र पहिरोको जोखिम भने अझै कायम रहेको उनले बताएका छन् ।

डाक्टर उप्रेतीका अनुसार मनसुन बाहिरिने क्रममा पूर्वी नेपालमा परेको असामान्य भारी वर्षाले सडक र नदी प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ । ‘धेरै सडक भत्किएका छन्, कतिपय राजमार्गमा चिरा परेका छन्, जसले पहिरोको जोखिम अझै कायम राखेको छ,‘उनले भने ।

उनले घाम लागेपछि माटो सुक्दै जाँदा चिरा बढ्ने र सडक भासिने सम्भावना रहेको भन्दै राजमार्ग क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आग्रह गरे ।

उनका अनुसार काठमाडौं उपत्यका र वरिपरिका क्षेत्रमा वर्षा कम हुँदै गएको र नदीहरूको सतह घट्दो क्रममा रहेको छ । पूर्वमा सक्रिय मौसमी प्रणाली क्रमशः बाहिरिँदैछ र यसको असर आइतबार साँझसम्म घट्नेछ,‘उनले जानकारी दिए ।

डा। उप्रेतीका अनुसार यस पटकको मनसुन अन्त्यतिरको वर्षा मुख्यतया पूर्वी क्षेत्रमा केन्द्रित रह्यो भने पश्चिम नेपालमा यसको प्रभाव न्यून देखियो । ‘सोमबार र मंगलबार सुदूरपश्चिममा सामान्य मात्र प्रभाव देखिन सक्छ, तर ठुलो असर पर्ने सम्भावना छैन,‘उनले भने ।

उनका अनुसार बुधवारदेखि देशभर मनसुन बिस्तारै बाहिरिने भएकाले किसानले धान भित्र्याउने काम सुरु गर्न सक्नेछन् ।

डा।उप्रेतीले मौसमसम्बन्धी पूर्व सूचनाको महत्त्व औँल्याउँदै भने, ‘जल तथा मौसम विभागले समयमा जारी गरेको चेतावनीले ठुलो धनजन क्षति हुनबाट बचाएको छ ।’ उनले आगामी दिनमा पूर्व सूचना प्रणालीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारलाई थप लगानी गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?