अतिरिक्त उडानको तयारी गर्दै वायुसेवा कम्पनी

लोकपथ
441
Shares

काठमाडौं । शनिवारका सबैजसो उडान स्थगित भई यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले अतिरिक्त उडानको तयारी गरेका छन् । शनिवार र आइतबार बिहानको उडान रि-सेड्युल गर्नु परेपछि आइतबार अतिरिक्त उडान गर्न लागिएको हो ।

आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध र यति एयरले अतिरिक्त उडान गर्न लागेका छन् । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिन लागिएको बुद्ध एयरले जनाएको छ ।

खराब मौसमका कारण शनिवार आन्तरिक विमानस्थल बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि शनिवार काठमाडौंबाट बाहिर जाने र काठमाडौं फर्कने अधिकांश यात्रु अलपत्र परेका थिए ।

वायुसेवा कम्पनीहरूले शनिवारको उडानलाई रि-सेड्युल गरेर आइतबार र सोमबार उडान भर्ने तयारी गरेका छन् । त्यसका लागि अतिरिक्त उडान गर्ने तयारीका साथ नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति माग गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भने आइतबार बिहान ११ बजेसम्म कुनै पनि वायुसेवा कम्पनीले अतिरिक्त उडानको माग नगरेको जनाएको छ । प्राधिकरणका महानिर्देशक डा. प्रदीप अधिकारीले हालसम्म कसैले पनि अतिरिक्त उडानको माग नगरेको भन्दै माग आए अतिरिक्त उडानको अनुमति दिने बताए ।

खराब मौसमका कारण आइतबार बिहानको उडानसमेत प्रभावित बनेको थियो । आइतबार बिहान करिब ९ बजेबाट मात्रै उडान सुचारु भएको थियो ।

भारी वर्षापछिको पहिरोका कारण अधिकांश राजमार्गमा समेत अवरोध भएको र सुरक्षाका कारण कतिपय राजमार्ग बन्द भएको अवस्थामा वायुसेवा कम्पनीहरूले अतिरिक्त उडानको तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?