काठमाडौं । शुक्रबार रातिदेखि परेको भारी वर्षाका कारण देशभर आज आइतबार बिहान ११ बजेसम्म २२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार मनसुनजन्य विपद्बाट इलाममा १८ जना, उदयपुरमा १ जना र रौतहटमा चट्याङका कारण तीन जनाको ज्यान गएको हो ।
उदयपुरमा २२ जना सवार गाडी जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र २१ जनाको उद्धार गरिएको भट्टले बताए ।
भट्टले भने, ‘अरू बेलामा भन्दा घटना कम भए पनि भएका घटनाहरू गम्भीर छन् । उदयपुरमा हाइस दुर्घटनाबाट एक जनाको निधन भएको छ, इलाममा १८ जनाको निधन भएको छ र सात जना घाइते भएका छन् । चट्याङका कारण रौतहटमा तीन जनाको मृत्यु भएको छ ।’
उनका अनुसार उदयपुरको गिरेबी खोलामा केही मानिस डुबानमा फसेकाले उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरू सक्रिय रूपमा उद्धार कार्यमा खटिएका छन् ।
भट्टले हाल मनसुन पूर्वतिर सक्रिय रहेको बताउँदै पूर्वका क्षेत्रमा वर्षा बिस्तारै घट्दै गएको जानकारी दिए । तर पाँच वटा ठुला नदीहरूमा बाढीको जोखिम कायमै रहेको भन्दै उनले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
उनले थपे, ‘विपद्को जोखिम अझै समाप्त भएको छैन । बाढी र पहिरोको सम्भावना रहेका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न सबैलाई अनुरोध गर्दछौँ । वर्षा कम भएसँगै सडक सञ्जाल र विद्युत् अवरुद्धता हटाउने कामलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया