इलाममा विभिन्न पहिरोमा परी १३ जनाको मृत्यु, ६ जना बेपत्ता

लोकपथ
1.3k
Shares

काठमाडौं । भारी वर्षासँगै आएको पहिरोमा परी इलाममा १३ जनाको मृत्यु भएको छ । इलामका विभिन्न स्थानमा आएका पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।

इलामको इलाम नगरपालिका ६, घोसमा घरमाथि पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान ७ बजे इलाम नगरपालिका ६, घोसमा रहेको डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बलको श्रीअन्तु गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेम बहादुर बस्नेतको कमान्डमा ७ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यहाँ उद्धारको कार्य भइरहेको छ ।

त्यसै गरी इलामकै सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा राजु क्षेत्रीको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ । घर नै पहिरोमा पुरिँदा घटनास्थलबाटै ४ जनाको शव निकालिएको छ भने एक जना घाइतेलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उक्त स्थानमा बोर्डर आउट पोस्ट (बिओपी) मानेभञ्ज्याङबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र डोटेलको कमान्डमा ७ जनाको टोली खटिएर खोज र उद्धारको काम गरिरहेको छ ।

गत १७ गते राति समेत इलामकै फाकफोकथुम गाउँपालिका ३ रातमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

त्यसै गरी इलामकै सन्दकपुर गाउँपालिका १, छाँगेमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

इलामकै माइजोगमाई गाउँपालिका ६, प्याङमा घरमाथि पहिरो खस्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

इलामकै सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा घरमाथि पहिरो खस्दा घरसँगै एक बालिका बेपत्ता भएकी छिन् ।

माङ्सेबुङ गाउँपालिकामा १ मा पहिरोमा परेर एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् ।

यति बेला जनपथ प्रहरी पनि घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । त्यहाँ भएको मानवीय क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

अधिकांश सडक मार्गमा पहिरोका कारण समयमै उद्धार गर्न नसकिएको इलामका प्रहरी प्रमुखले बताएका छन् ।

कतिपय घटनास्थल नेपाल भारतको सीमा क्षेत्रसमेत भएकाले त्यहाँ सशस्त्र प्रहरीको समन्वयमा भारतीय सशस्त्र सीमा बलको २६ नम्बर बटालियनबाट समेत संयुक्त रूपमा उद्धारको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?