काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले कोसी प्रदेशबाहेक अन्य प्रदेशमा भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । बिहार हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त मौसम यति बेला कोसी प्रदेशमा सक्रिय रहे पनि अन्यत्र भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ ।
शनिवार बिहानबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त मौसमले मधेस र बागमती प्रदेशमा अति भारी वर्षा गराएको थियो । उक्त मौसम अहिले बिस्तारै निष्क्रिय हुँदै यति बेला कोसी प्रदेशमा सक्रिय रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अब अन्य प्रदेशमा तत्कालै भारी वर्षाको सम्भावना रहेको छैन । कोसी प्रदेशका केही जिल्ला र मधेस प्रदेशको सप्तरीमा वर्षा सक्रिय रहेको भए पनि अन्यत्र हल्का वर्षा मात्रै रहने उनले बताए । यति बेला काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का वर्षा भने भइरहेको छ ।
काठमाडौं उपत्यकाको वर्षा पनि अब केही समय मात्रै रहने र बिस्तारै मौसम सफा हुँदै मनसुन बाहिरिने मौसमविद् ढकालले लोकपथलाई बताए ।
मधेस प्रदेशको वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त मौसमले मधेस प्रदेश र बागमती प्रदेशमा अत्यधिक वर्षा गराएको थियो । मधेस र बागमतीपछि उक्त मौसमी प्रणाली पूर्वतर्फ प्रवेश गरेको हो । उक्त प्रणालीले कोसी प्रदेशमा गए राति अति धेरै वर्षा गराएको थियो । अहिले भने कोसी प्रदेशमा पनि मध्यम र भारी वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यका माथिको आकाशमा सामान्य बादलहरू देखिएका छन् र केही समय हल्का वर्षा भने गराउन सक्नेछ ।
गण्डकी प्रदेशदेखि पश्चिमको मौसम भने अहिले सफा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया