नागढुंगा-मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

लोकपथ
217
Shares
फाइल तस्बिर

काठमाडौं । लगातारको वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले आज गरेको संयुक्त अनुगमनमा राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने खतरा पहिचान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार वर्षाको कारण सडकमा यात्रा गर्न सकिने अवस्था नरहेकाले नागरिकलाई आ–आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरिएको छ। उहाँका भनाइमा बेनीघाट रोराङ गाउँपालिका–१० को जवाङखोला क्षेत्र सबैभन्दा बढी जोखिममा परेको छ।

यस्तै, झ्याप्ले खोलाको पुरानो पहिरो क्षेत्र, सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभान (लेदो र पानी सडकमा पस्ने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा समेत पहिरोको उच्च जोखिम रहेको प्राविधिक टोलीले जनाएको छ।

विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानहरूमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने सम्भावना छ। हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छ्याउँदै गन्तव्यतर्फ पठाइएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जोखिम क्षेत्र प्रवेशमा रोक लगाइएको र आपत्कालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए ।

सडक विभाग, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरण कार्य निरन्तर जारी रहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?