देशभरका छ स्थानमा सडक अवरुद्ध, आवागमन रोकियो

लोकपथ
616
Shares

काठमाडौं । लगातारको वर्षाका कारण देशभरका विभिन्न छ स्थानमा पहिरो खस्दा सडक आवागमन ठप्प भएको छ।

शुक्रबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रमुख राजमार्गदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसम्म प्रभावित पारेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ। त्यस्तै, कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा खसेको पहिरोका कारण आवत-जावत बन्द छ।

फर्पिङ–सस्नेरी सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामाथिबाट खसेको पहिरोले पनि आवागमन रोकिएको सुवेदीले जानकारी दिए ।

त्यसैगरी, बिपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारीसाधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोमा सडक भासिएको छ भने धुलिखेल–खावा र ५४ किलो क्षेत्रमा खसेको पहिरोका कारण पनि यातायात पूर्ण रूपमा रोकिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा खसेको पहिरोका कारण समेत आवतजावत बन्द भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?