काठमाडौं । देशभर मनसुनजन्य विपद्का जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपालले उच्च सतर्कता अपनाएको छ । विपद् व्यवस्थापनका लागि जनचेतनामूलक माइकिङदेखि उद्धार तालिम प्राप्त जनशक्ति र उद्धारका उपकरणसम्मको तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार हाल ७ वटै प्रदेशका सबै जिल्लामा मनसुनजन्य विपद् सम्बन्धी सचेतना फैलाउन ३२२ स्थानमा २ हजार ६६१ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसका साथै ६७ जिल्लामा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गरिएको छ ।
देशका ११ स्थानमा १३४ जना गोताखोर, २ हजार ६२३ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति, साथै ९६ वटा र्याफ्ट र ३३ मोटर बोटसहित कुल १२९ उद्धार बोटहरू तैनाथ गरिएको सशस्त्र प्रहरीको भनाइ छ ।

प्रधान कार्यालयसहित देशभरका युनिटहरूमा १० हजारभन्दा बढी सुरक्षाकर्मी स्ट्यान्डबाई अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । साथै २६ स्थानमा अस्थायी विपद् व्यवस्थापन बेस र ९ स्थानमा विपद् व्यवस्थापन सुरक्षा बेस स्थापना गरी तयारी अवस्थामा राखिएको सशस्त्रले जनाएको छ ।
विपद्सम्बन्धी सूचनाको द्रुत संकलन र प्रतिक्रिया प्रणालीका लागि APF Community Alert System (APF-CAS) एप्स पनि सञ्चालनमा ल्याएको छ । उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनका लागि सशस्त्र प्रहरीले विभिन्न वडाका अध्यक्ष तथा स्थानीय विपद् सूचकहरूसँग फोन सम्पर्कमार्फत वास्तविक स्थिति बुझ्ने कार्यसमेत गरिरहेको जनाएको छ ।
यसैबिच, सप्तकोसी बाँधका १४ वटा ढोका र २ वटा नहर खुला गरिएको छ । हाल उक्त क्षेत्रमा पानीको बहाव १ लाख २ हजार ३५ क्युसेक पुगेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाका १३ स्थानमा र्याफ्ट बोट र मोटर बोटसहित १३ वटा उद्धार बोट परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया