यस्ता छन् वाम गठबन्धन घोषणापत्रका दावी

काठमाडौं, २२ कात्तिक- सन् २०३० भित्र संयुक्त राष्ट्रसंघले राखेको दिगो विकासको लक्ष्य भेट्ने गरी भावी विकासका मोडेल र योजनासहित चुनावी घोषणापत्र तयार पारेको वाम गठबन्धनले दाबी गरेको छ । सन् २०१६ देखि लागू भएको राष्ट्रसंघको दिगो विकासको लक्ष्यले सन् २०३० भित्र विश्वबाट सबै किसिमका गरिबी र भोकमरी अन्त्य गर्नेलगायत १७ वटा लक्ष्य राखेको छ ‘हाम्रो घोषणापत्र राष्ट्रसंघको दिगो विकासको लक्ष्यसँग तारतम्य मिलाएर बनाइएको छ’, वाम गठबन्धनको घोषणासभामा मंगलबार एमाले अध्यक्ष केपी ओलीले भने, ‘यो सबभन्दा सर्वोत्कृष्ट छ।’वाम गठबन्धनले आत्मनिर्भर अर्थतन्त्रको विकास र समग्रमा समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्ति मूल आर्थिक कार्यदिशा र मार्गचित्र हुने घोषणापत्रमा उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरता एवं स्थायित्व तथा देशको आर्थिक समृद्धिको मार्गचित्र वाम गठबन्धनको घोषणापत्रले बोकेको दाबी गरे ‘नेपाललगायत विश्वका प्राय: सबै मुलुकले संयुक्त राष्ट्रसंघमार्फत अघि सारेका दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा हासिल गर्न हामी प्रतिबद्ध छौं’, घोषणापत्रमा भनिएको छ, ‘निरपेक्ष गरिबी, भोकमरी, निरक्षरता, अस्वस्थता र असमानताको अन्त्यजस्ता पवित्र तर चुनौतीपूर्ण लक्ष्यहरू हासिल गर्ने गरी सामाजिक-आर्थिक रूपान्तरणका नीति तथा कार्यक्रम अघि बढाइनेछ ।’’वाम गठबन्धनले आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने महत्वाकांक्षी घोषणा गरेको छ । शताब्दीको अन्त्य अर्थात् वि.सं. २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रम अगाडि बढाइनेछन्’, घोषणापत्रमा उल्लेख छ । भूमिको वैज्ञानिक व्यवस्थापन र आधुनिक कृषि कार्यक्रम लागू गरेर दुई वर्षभित्र नेपाललाई आधार‌भूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाइने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने घोषणापत्रमा उल्लेख रहेको खबर अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?