खराब मौसमका कारण आजका सबै आन्तरिक उडान स्थगित

लोकपथ
301
Shares

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सबै उडान स्थगित भएको छ । विमानस्थल तथा इनरुट उडानको मौसम सफा नभएकाले शनिवारका सबै उडान स्थगित गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई सूचना पठाएर पहिलो पटक बिहान पौने ११ बजेसम्म उडान स्थगन हुने भनेकामा त्यसपछि दोस्रो सूचना पठाएर १ बजेसम्म स्थगन हुने भनेको थियो ।

त्यसपछि फेरि अर्को सूचना पठाएर ३ बजेसम्म स्थगन भनिएकामा अपराह्न ४ बजे आजका लागि सबै उडान स्थगन भएको सूचना जारी गरेको छ ।

विमानस्थलका प्रवक्तासमेत रहेका निर्देशक रिञ्जी शेर्पाका अनुसार अहिले इनरुट मौसम प्रतिकुल रहेको र वर्षासँगै चट्याङसमेत पर्न थालेकाले सुरक्षाका कारण उडान तथा अवतरण स्थगन गरिएको हो । अहिले उडान गर्ने र अवतरण गर्ने सबै स्थानको मौसम समेत खराब रहेकाले आन्तरिकतर्फका सबै उडान र अवतरण स्थगन गरिएको हो ।

अहिले देशका अधिकांश स्थानमा मध्यम र भारी वर्षा भइरहेको छ । अहिले नै कतिपय स्थानमा अति भारी वर्षा समेत हुन थालेकाले भोलि बिहान पनि उडान हुने सम्भावना न्यून रहेको छ । यद्यपि भोलि बिहान के हुन्छ भन्ने सम्बन्धमा भोलि नै थाहा हुने विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमितरुपमै सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?