काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ । शनिबार बिहानदेखि सुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न सिंहदरबारस्थित कार्यालयबाट २६ सय बढी जनशक्ति खटाइएको हो ।
सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जनालाई परिचालन गरिएको जानकारी दिए ।
विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग र समुदायमा गएर माइकिङ गर्ने, सचेतनाका लागि सामग्री वितरण गर्ने र उद्धारका सामग्रीसहित परिचालन भइरहेको उनले बताए । हालसम्म कुनै पनि गम्भीर घटनाको सूचना प्राप्त नभएको उनले जानकारी दिए ।
बस्नेतले भने, ‘५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँस र बोराहरु लगाएर सुरक्षा व्यवस्था गरिएको छ । १ सय २९ वटा र्याफ्टिङ टोलीहरू कोशी, गण्डकी, बागमती प्रदेश र मधेस प्रदेशमा परिचालित छन् । उद्धार टोली र एम्बुलेन्सहरू सबै स्ट्यान्डबाइ राखिएका छन् ।’
उनले ६७ जिल्लाका विभिन्न स्थानहरूमा माइकिङ गरेर नागरिकलाई सतर्क रहन अनुरोध गरिएको, सामाजिक सञ्जालमार्फत पनि मनसुन सचेतना सामग्रीहरू पठाइएको जानकारी दिए ।
साथै, ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई विभिन्न उपकरणसहित उद्धारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। हिमाली क्षेत्रमा रहेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमान अनुसार सुरक्षित स्थानमा फर्किन पनि आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया