काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको सेवा अपराह्न १ बजेसम्मका लागि स्थगन गरिएको छ । सबै प्रदेशमा पानी परिरहेको कारण उडान र अवतरणमा समस्या हुने भन्दै आन्तरिक उडानतर्फका सबै सेवा अपराह्न १ बजेसम्मका लागि स्थगन गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विभिन्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई सूचना पठाएर सुरुमा ११ बजेसम्म उडान स्थगन हुने सूचना पठाएकामा अहिले उक्त सूचना अपराह्न १ बजेसम्म रहने जनाएको छ । पहिले बिहान २ घण्टा उडान स्थगन गराएको विमानस्थलले थप दुई घण्टा उडान स्थगन हुने सूचना जारी गरेको हो ।
विमानस्थलका प्रवक्तासमेत रहेका निर्देशक रिञ्जी शेर्पाका अनुसार अहिले इनरुट मौसममा समेत समस्या देखिएको र उडान गर्ने तथा अवतरण गर्ने सबै स्थानको मौसम समेत खराब रहेकाले आन्तरिकतर्फका उडान र अवतरण स्थगन गरिएको छ ।
अहिले मध्यम वर्षा भइरहेको कारण सुरुमा पौने ११ बजेसम्मको उडान स्थगन गरिएकामा अहिले अपराह्न १ बजेसम्मका सबै आन्तरिक उडान स्थगन गरिएको हो ।
तर अपराह्नपछि अझै भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसपछि पनि उडान र अवतरण स्थगन हुन सक्ने प्रवक्ता शेर्पाले लोकपथलाई बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमितरुपमै सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया