काठमाडौं । सरकारले आगामी असोज २० गतेसम्म काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा आगामी असोज २० गतेसम्मका लागि रोक लगाएको छ । सरकारले शनिवार बिहान यस्तो निर्णय गरेको हो ।
निरन्तर वर्षा भएपछि शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि २० गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा भइरहेको र अति वर्षा हुने पाँच प्रदेशमा चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा रोक लगाएको हो ।
त्यसै गरी विभिन्न नाका हुँदै काठमाडौं भित्रिने सवारीसाधनको सञ्चालनमा समेत रोक लगाएको छ ।
यति बेला काठमाडौंको नागढुङ्गा नाका पूर्णरुपमा बन्द गरिएको छ भने फर्पिङ नाकामा पनि कडाइ गरिएको छ । साँगा नाकाबाट पनि सवारीसाधनलाई काठमाडौं प्रवेशमा कडाइ गरिएको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वमा कोसी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र त्यसले बाढी तथा पहिरो समेत ल्याएको र केही स्थानमा भारी र अति भारी वर्षाको समेत सम्भावना रहेको भन्दै असोज २० गतेसम्म राजमार्गहरूमा सवारीसाधन चलाउन रोक लगाएको हो ।
प्राधिकरणको सूचनामा भनिएको छ,
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवम् त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ ।’
गृह मन्त्रालयको निर्णय अनुसार उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन नचलाउन, जिल्लाका सिडिओ र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवम् सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु समेत अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनामा भनिएको छ, ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया