यी पाँच प्रदेशमा भइरहेछ वर्षा, यी जिल्ला हुन् बढी पानी पर्ने क्षेत्र

लोकपथ
1.7k
Shares

काठमाडौं । यति बेला देशमा पाँच प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका ७ मध्ये ५ प्रदेशमा वर्षा भइरहेको जनाएको छ । 

काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाका अनुसार यति बेला कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

असोज १७ गते दिउँसो र रातको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि वर्षा भएको थियो । तर शनिवार बिहान ७ बजेदेखि ८ बजेसम्मको विवरणअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले पानी परिरहेको छैन ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले नै भारी वर्षा भइसकेको छैन । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा भइरहेको छ । हिजो राति भने सुदूरपश्चिमको एक स्थानमा भारी वर्षा मापन गरिएको थियो । 

मौसमविद् मानन्धरका अनुसार अहिले पूर्वतिर केन्द्र भएर कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरूमा पानी परिरहेको छ । तर कोसी प्रदेशका पूर्वतर्फका केही जिल्ला र लुम्बिनी प्रदेशको पश्चिमतर्फका कतिपय जिल्लाहरूमा पानी परिरहेको छैन ।

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले पानी परिरहेको हो । भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको बादलको बाहिरी घेराको असरले यति बेला नेपालमा पानी पारिरहेको छ । नेपालमा शनिवार दिउँसोबाट अर्को एउटा मौसमी प्रणाली पनि नेपाल भित्रिने र त्यसले केही स्थानमा अत्यधिक वर्षा गराउन संकेत देखाएको मौसमविद् मानन्धरले लोकपथलाई बताइन् । 

अर्को मौसमी प्रणाली नेपाल भित्रिएपछि मधेस प्रदेशका बारा, पर्सा, रौतहटसर्लाही जिल्लामा भारीदेखि अति भारी वर्षाको आकलन गरिएको छ । त्यसै गरी मधेस प्रदेशकै सिराहा, सप्तरी, धनुषा र महोत्तरीमा पनि मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ । 

यता बागमती प्रदेशका जिल्लाहरू पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जिल्लाहरू हुन् । 

बागमती प्रदेशका चितवन, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, नुवाकोट र धादिङ जिल्लामा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका अन्य जिल्लाहरू रसुवा, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा र रामेछापमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यता गण्डकी प्रदेशका गोरखा र तनहुँ जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेशका कास्की, स्याङ्जा, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाहरूमा पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । 

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही र पाल्पा जिल्लामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । त्यसै गरी कपिलवस्तु, अर्घाखाँची र गुल्मी जिल्लामा यति बेला मध्यम वर्षा भइरहेको छ भने पछि यी जिल्लाहरूमा पनि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले दाङ, रोल्पा र प्युठानमा हल्का वर्षा भइरहेको भए पनि पूर्वी रुकुम, रोल्पा, बाँके र बर्दियामा भने केही स्थानमा मात्रै पानी परिरहेको छ । 

कोसी प्रदेशका उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लामा यति बेला मध्यम वर्षा भइरहेको छ भने सोलुखुम्बु, संखुवासभा, भोजपुर र धनकुटा, मोरङ र झापा जिल्लामा हल्का वर्षा भइरहेको छ । इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लामा भने केही स्थानमा मात्रै पानी परिरहेको छ । 

मौसमविद् मानन्धरका अनुसार एक घण्टामा ५० मिलिमिटरसम्म पानी परेमा मध्यम वर्षा भनिन्छ भने ५० मिलिमिटर कटेर १ सय मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भनिन्छ । त्यसै गरी १ सय मिलिमिटर कटेर २ सय मिलिमिटरसम्म पानी परेमा धेरै भारी वर्षा भन्ने गरिन्छ भने प्रतिघण्टा २ सय मिलिमिटर कटेमा अति भारी वर्षा भन्ने गरिन्छ । 

यी दुई मौसमी प्रणालीले ल्याएको पानी आगामी असोज २० गते सोमबारसम्म जारी रहने पूर्वानुमान छ । 

कति पानी पर्दा वर्षाको मापन कसरी गरिन्छ ?
कुन क्षेत्रमा कति पानी पर्‍यो भनेर मापन गर्ने विधि नै वर्षाको मापन गर्ने विधि हो । वर्षाको मापन गर्दा मिलिमिटरमा गर्ने गरिन्छ । एक मिलिमिटर वर्षा भनेको एक वर्ग मिटर क्षेत्रमा एक लिटर पानी पर्नु हो । 

प्रति घण्टाको आधारमा मापन गर्दा :
हल्का वर्षा : २.४ मिलिमिटर भन्दा कम प्रति घण्टा
मध्यम वर्षा : २.५ देखि ७.५ मिलिमिटर प्रति घण्टा
भारी वर्षा : ७.६ देखि ५० मिलिमिटर प्रति घण्टा
धेरै भारी वर्षा : ५० देखि १०० मिलिमिटर प्रति घण्टा
अति भारी वर्षा : १०० मिलिमिटर भन्दा बढी प्रति घण्टा

प्रति २४ घण्टाको आधारमा मापन गर्दा :

हल्का वर्षा : १० मिलिमिटर भन्दा कम
मध्यम वर्षा : १० देखि ५० मिलिमिटर
भारी वर्षा : ५० देखि १०० मिलिमिटर
धेरै भारी वर्षा : १०० देखि २०० मिलिमिटर
अति भारी वर्षा : २०० मिलिमिटर भन्दा बढी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?