काठमाडौं । धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ ।
पानी परिरहेकाले यात्रामा जोखिमयुक्त भएको भन्दै गाडी चलाउन रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ । ‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरूमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाललाई (बिहान ६ः०० बजेबाट) चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ ।
मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो । अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुंगा खस्ने क्रम जारी छ । यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीय बासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएकोमा फेरि बिहान करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया