काठमाडौं । हालैको शेयर बिक्रीपश्चात् ओपनएआई संसारकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको छ । च्याटजीपीटीलगायत कृत्रिम बौद्धिकता प्रविधिको विकासमा अग्रणी कम्पनी ओपनएआई एलन मस्कको कम्पनी स्पेसएक्सलाई समेत पछाडि पार्दै संसारकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनेको हो । च्याटजीपीटी जस्ता उत्पादनको लोकप्रियता र व्यावसायिक विस्तारका कारण कम्पनीले छोटो समयमा मूल्यवृद्धिमा उल्लेखनीय फड्को मारेको हो ।
ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, ओपनएआईको पछिल्लो मूल्यांकन ५ सय अर्ब अमेरिकी डलर पुगेको छ । जबकि एलन मस्कको कम्पनी स्पेसएक्सको पछिल्लो मूल्यांकन ३ सय ५० अर्ब अमेरिकी डलर छ । सन २०२५ को सुरुमा ओपन एआईको अनुमानित मूल्यांकन ३ सय अर्ब डलर मात्र थियो ।
ब्लुमबर्गका अनुसार, यो मूल्यांकन सेकेन्डरी स्टक सेलमार्फत भएको हो, जसमा कम्पनीका वर्तमान र पूर्व कर्मचारीहरूले करिब ६ दशमलव ६ अर्ब डलर बराबरको शेयर बिक्री गरेका थिए । यस शेयर खरिदमा सहभागी प्रमुख लगानीकर्ताहरूमा थ्राइभ क्यापिटल, सफ्टबैंक, एमजीएक्स अबुधावी लगायतका प्रतिष्ठित लगानी संस्था सामेल थिए ।
ओपनएआईले करिब १० अर्ब डलरको सेयर बिक्रीका लागि अनुमति दिएको भए पनि ६ दशमलव ६ अर्ब डलरको मात्र बिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया