काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशभर विशेषगरी काठमाडौं उपत्यकामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यसै क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातिको समयमा काठमाडौं भित्रिने र बाहिर जाने यात्रा नगर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार आगामी दिनमा हुने वर्षाले बाढी, पहिरो र भू-क्षय जस्ता विपद्जन्य घटना बढ्ने सम्भावना भएकाले अनावश्यक यात्रामा नजान र आ-आफ्नो स्थानमै सतर्क रहन आग्रह गरिएको हो । उनले भने, ‘अत्यन्त जरुरी नभई सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस् । विशेषगरी रातिको समयमा उपत्यकामा प्रवेश र निर्गमन नगर्न अनुरोध गर्दछौं ।’
विपद्को अवस्थामा तत्काल उद्धार, सहयोग वा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर काठमाडौं (१६६०-०१-४१५१६, ९८५१२८३०२६, ०१-५७२१०१७), सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार गण, सिनामंगल (९८५१२७२०३५, ०१–४४७१३३७) तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (९८५१३६२९३७) मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।
यसअघि नै ललितपुर प्रशासनले समेत जोखिम कम गर्न कान्ति लोकपथमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । अन्य जिल्लाले पनि उच्च जोखिम भएका स्थानमा सवारी सञ्चालन नियन्त्रण गर्ने व्यवस्था मिलाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया