काठमाडौं । बिहारको मौसम विभागले आगामी ४८ घण्टा भारी वर्षाको सम्भावना रहेको भन्दै हाई अलर्ट जारी गरेको छ । भारतको ओडिसा क्षेत्रबाट आएको न्यून चापीय हावाका कारण बिहारमा यति बेला भारी वर्षा भइरहेको छ ।
त्यहाँको मौसम विभागले पटना सहित राज्यका धेरै जिल्लाहरूमा भारी वर्षाको चेतावनी दिएको छ । बिहारको गया, कैमूर र पश्चिम चम्पारण क्षेत्रमा अत्यधिक भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । अन्य धेरै जिल्लाहरूमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । अहिले त्यहाँ प्रति घण्टा ३० देखि ४० किलोमिटरमा तेज हावा चल्न सुरु गरेको छ ।

मौसम विभागले आगामी दुई दिनमा राज्यका अधिकांश क्षेत्रहरूमा त्यहाँको तापक्रमसमेत १ देखि ३ डिग्री सेल्सियससम्म घट्ने जनाएको छ । साथै, धेरै जिल्लाहरूमा भारी देखि अत्यधिक भारी वर्षाको सम्भावना रहेको र त्यहाँ आँधीबेहरी, हुरी तथा चट्याङको चेतावनी समेत दिइएको छ ।
त्यहाँको मौसम विभागले गया, कैमूर र पश्चिम चम्पारण जिल्लाका केही स्थानमा अत्यधिक भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान, रोहतास, औरंगावाद र नवादा जिल्लाहरूमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यसबाहेक बक्सर, भोजपुर, सारण, सीतामढी, शिवहर, बांका, जमुई, जहानावाद र शेखपुरा जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । बिहारका लगभग सबै भागहरूमा आँधीबेहरी, हुरी, चट्याङ आदिको सम्भावना रहेको जनाइएको छ ।
त्यहाँको मौसम विभागले मानिसहरूलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्नका लागि चेतावनी दिएको छ । त्यसै गरी नदीको तटीय क्षेत्रमा बस्ने मानिसहरूलाई हाई अलर्ट गराइएको छ र सुरक्षित स्थानमा बस्न भनिएको छ ।
बिहार राज्य सरकारले त्यहाँको स्थानीय प्रशासनलाई पनि हाई अलर्ट रहन र आपत्कालीन स्थिति व्यवस्थापनको लागि तयार रहन निर्देशन दिएको छ ।
(एजेन्सीको सहयोगमा ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया