काठमाडौं । महोत्तरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बर्दिबास नगरपालिका-११, खयरमारामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३४ थप जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीमा दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस आज बिहान सवा ७ बजे महोत्तरीको बर्दिबास नगरपालिका–११, खयरमारामा दुर्घटना हुँदा घटनास्थलमै १ जना र उपचारका क्रममा १ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार आज बिहान सवा ७ बजे ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एक जना पैदल यात्रुसहित बसमा यात्रारत एक १२ वर्षीय किशोरको मृत्यु भएको हो ।

भित्री सडकमा भएको दुर्घटनामा बर्दिबास नगरपालिका १० का ७३ वर्षीय चुल्हाई चौधरी र बसमै यात्रा गरिरहेको सर्लाहीको ईश्वरपुर नगरपालिका १२ का १२ वर्षीय प्रवीण खड्काको मृत्यु भएको हो । चौधरी पैदल यात्रु हुन् भने खड्काको उपचारका क्रममा शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको हो ।
महोत्तरीको खयरमाराबाट काठमाडौँ आउँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बर्दिबासमा रहेको जनसेवा, शुभ स्वस्तिक लगायत अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको डिएसपी भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया