काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार असोज १७ गते बिहान ७ः३० बजेसम्म सात वटा राजमार्गका सडक खण्डमा आवत-जावत पूर्ण रूपमा बन्द भएको छ ।
प्रहरीका अनुसार बागमती प्रदेशको रसुवा र काभ्रे र सिन्धुपाल्चोक, कोसी प्रदेशको संखुवासभा र कर्णाली प्रदेशको रुकुम पूर्व सडक खण्डमा अवरोध भएको हो ।
कहाँ कहाँ छन् अवरोध ?
रसुवा :
गत असार २४ गते बिहान ३ बजे आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित नेपाल-चीन नाका जोड्ने मितेरी पुल क्षति पुर्याएपछि हालसम्म पनि दुई देशबिचको आवागमन पूर्ण रूपमा बन्द छ ।
असोज १६ गते साँझ ५ः४० बजे सोही गाउँपालिकाको घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा ढुङ्गासहित सुख्खा पहिरो खसेको कारण सडक अवरुद्ध भएको छ ।
सोही सडक खण्डको बालुवाखानी–तातोपानी खण्डमा पनि सुख्खा पहिरोसहित ढुङ्गा खसेको कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोक :
असोज १६ गते बिहान १०ः१० बजे अरनिको राजमार्गको भोटेकोसी गाउँपालिका-४ मा पर्ने चारकिलो भन्ने स्थानमा सडक भासिएपछि आवागमन पूर्णरुपमा ठप्प भएको छ ।
काभ्रे : वीपी राजमार्ग बन्द
भारी वर्षा र त्यसपछि हुनसक्ने जोखिमलाई मध्यनजर गरी धुलिखेल, सिन्धुली हुँदै जाने वीपी राजमार्ग असोज १६ गते रातिदेखि असोज २१ गते बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ । उक्त क्षेत्रमा सवारी आवागमन हुने छैन ।
संखुवासभा :
गत जेठ ६ गते १२ बजेको समयमा आएको बाढीले भोटखोला गाउँपालिका-४, बरुणखोलामा खोलामा राखिएको ह्युम पाइप बगाएपछि खाँदबारी-थुम्सुर जोड्ने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षातको समय रहेसम्म उक्त क्षेत्रमा सवारी आवागमन हुनसक्ने अवस्था रहेको छैन ।
त्यसै गरी गत भदौ १५ गते पहिरो खस्दा मकालु गाउँपालिका–३, संखुवासभाको एकुवा खण्डमा पहिरो खस्दा खाँदबारी-किमाथांका सडक खण्ड पूर्ण रूपमा बन्द भएको कारण उक्त क्षेत्रमा पनि सवारी आवागमन हुन सकेको छैन ।
हुम्ला :
यता कर्णाली प्रदेशको हुम्लामा पनि सडक अवरुद्ध भएको छ । असोज १६ गते राति परेको वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका-६, सेल्तडीस्थित कर्णाली कोरिडोरमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पूर्व :
त्यसै गरी कर्णाली प्रदेशकै रुकुम पूर्वमा समेत सडक अवरुद्ध भएको छ । असोज १७ गते बिहान ७ः१५ बजे भुमे गाउँपालिका-४, काँडाबगरस्थित मध्य पहाडी लोकमार्गमा ढुङ्गासहितको सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्गको उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यातायात अवरुद्ध भएका खण्डमा तत्काल आवागमन सम्भव नभएकाले प्रहरी प्रधान कार्यालयले यात्रु र सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया