काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख पाँच सडक खण्ड अवरुद्ध भएका छन् । कोसी प्रदेश र बागमती प्रदेशका ५ सडक खण्डमा वर्षा, बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीका अनुसार असोज १७ गते बिहान ७ बजेसम्मको अवस्थामा कोसी प्रदेश र बागमती प्रदेशका राजमार्गका विभिन्न खण्डमा वर्षा, बाढी र पहिरोका कारण यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार असोज १७ गते बिहान ७ बजेसम्म कोसी प्रदेशको संखुवासभाको भोटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवा खण्डमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । ती क्षेत्रहरूमा अविरल वर्षा भएको थियो ।
यता बागमती प्रदेशमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ मा गत असार २४ गतेकै बाढीपछि नेपाल–चीन नाका जोड्ने पुलमा क्षति पुगेपछि अझै खुलेको थिएन । अहिले त्यस क्षेत्रमा पहिरो समेत गएको छ ।
त्यसपछि असोज १६ गते राति पासाङ ल्हामु सडक खण्डको सोही क्षेत्रनजिकै पहिरो गएको छ । पहिरोपछि त्यस खण्डको सडकसमेत पूर्णरुपमा बन्द भएको छ ।
यसै गरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ चारकिलो भन्ने स्थानमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग पूणरुपमा अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया