रोमाञ्चक खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियासँग ३ रनले पराजित 

लोकपथ
245
Shares

काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलामा नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ । मलेसियाको बेयुमास ओभलमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपाल तीन रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाउँदा कप्तान विनिफ्रेड दुराइसिंगमले सर्वाधिक २७ रन बनाएकी थिइन् । यस्तै ऐन्ना हमिजाह हाशिमले २६ रन तथा मस एलिसाले २५ रनको योगदान दिँदा बलिङतर्फ नेपालका लागि सोमु विष्टले २ विकेट र रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन् ।

जितका लागि १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १८, कविता जोशीले १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाएकी थिइन् । 

अन्तिम ओभरसम्म खेल प्रतिस्पर्धात्मक बने पनि नेपालले लक्ष्य भेटाउन सकेन । 

नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने   टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।  सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?