बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म रातको समयमा गाडी चलाउन रोक

लोकपथ
217
Shares

काभ्रेपलान्चोक । बीपी राजमार्गमा आज बिहीबारदेखि २१ गतेसम्म रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले तोकिएको समयभित्र साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गर्दै असोज १६ गतेदेखि २१ गतेसम्म अत्यावश्यक नभइकन बाहिर नजान, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्न र पहिरोको जोखिममा रहेका क्षेत्र तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो । जसअनुसार, काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातको बेला नचलाउने निर्णय भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा पनि भारी वर्षाको सम्भावना उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेपछि बसेको जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरू रोक्न सक्नेछन् ।

गत वर्षको असोज ११  र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनाएको थियो । क्षति पुगेका ठाउँमा अहिलेसम्म पनि पुनर्निर्माणको काम सकिएको छैन । त्यसले यसपालिको वर्षामा क्षतिको जोखिम कायमै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?