काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्वस्थ माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी रोगहरु निम्तिने खतरा रहेको बताएका छन् ।
उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलका कारणले स्वास्थ्य सम्बन्धी समस्या बढी निम्तिने खतरा रहेको बताएका हुन् । उनले स्वास्थ्य समस्या भइरहेका मानिसहरुमा झनै जटिलता निम्तिनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।
स्वास्थ्य समस्या नभएकाहरुमा पनि स्वास्थ्य सम्बन्धी आकस्मिक समस्या हुनसक्ने भन्दै खानपानमा विशेष ध्यान दिन आग्रह गरे । मासुका परिकारहरु बढी खाने, जंकफुडहरु खाने बानीले स्वास्थ्य समस्या झनै बढाउने बताए । स्वस्थ माछा मासु प्रयोग गर्न सके मात्रै पोषक तत्त्व प्राप्त हुने उनको भनाइ छ ।
सेकुवा, तारेर, भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए । छोइला जस्ता काँचो मासुबाट पनि रोग निम्तिने खतरा रहेको बताए । मासु खाँदा प्रेसर कुकरमा ५-६ सिठी लगाएर झोलिलो खानु राम्रो हुने र मासुसँगै हरियो सागपात खानु उचित हुने बताए । मर्निङ वाकलाई निरन्तरता दिन पनि आग्रह गरे ।
उनले दीर्घरोगीहरुले पनि आफ्नो समयअनुसार दैनिक रुपमा औषधि सेवन गर्नुपर्ने सुझाव दिए । चाडबाडका समयमा पहिलै औषधिहरु किनेर राख्न पनि सुझाव दिए । सकेसम्म सेतो मासु खान आग्रह गरे । कुखुरा, माछा वा अन्य पंक्षीहरुको मासु खान सुझाव दिए । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुनेले स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया