काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ सुरु भइसकेको छ । यो पर्वलाई धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक रूपमा पनि ठूलो महत्त्व दिइन्छ । दसैँमा आफन्तसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने र परिवारसँग रमाइलो गर्ने परम्परा रहँदै आएको छ ।
यसै अवसरमा घर–घरमा क्षमताअनुसार विशेष परिकार बनाइने गरिन्छ । दसैँमा मासुजन्य खानेकुराका साथै अन्य परिकार पनि सामान्य बेलामा भन्दा बढी मात्रामा खाने र बनाउने चलन छ । त्यसैले होला दसैँ ‘मीठो-मसिनो खाने चाड’ भनेर पनि चिनिने गर्छ ।
बढ्दो रोग तथा खराब जीवनशैलीका कारण हिजोआज शाकाहारीहरूको सङ्ख्या बढ्दैछ । शाकाहारी भोजन फाइदाजनक भएकाले शाकाहारीहरूको बाहुल्यता समेत बढ्दै गएको पाइन्छ । जिब्रोका स्वादका लागि मासु मात्र खानुपर्छ भन्ने कुराको कुनै आधार छैन । दसैँमा फलफूल, जुस, पनिर, तोफु, दही, च्याउ, मिठाई आदि खाएर पनि खानपिनको आनन्द लिन सकिन्छ ।
यति बेला मांसाहारीले पक्कु, सेकुवा, भुटन, छोइला, सुकुटी आदि परिकार खान्छन् भने शाकाहारीले पनिर, तोफु, सोयाबिन आदिका परिकार बनाएर खान सक्छन् ।

प्रोटिनका लागि मासु ठूलो स्रोत भए पनि शाकाहारी खानामा समेत प्रोटिन उत्तिकै मात्रामा पाउन सकिन्छ । शाकाहारी खाना मन पराउने मानिसका लागि दसैँमा केही उपयुक्त परिकारहरू रहेको द टेरेसेस रिसोर्ट एन्ड स्पा, लाँकुरी भन्ज्याङका सेफ सोपित लामा बताउँछन् । उनका अनुसार, नेपाली स्वादमै सरल र सजिलो तरिकाले विभिन्न प्रकारका स्न्याक्स बनाउन सकिन्छ ।
नेपाली स्वादमै ‘सोयाबिन चङ्क्स चिल्ली’
सोयाबिन चङ्क्स (सानो सोयाबिन) चिल्ली बनाउन आवश्यक सामाग्री
सोयाबिन चङ्क्स एक कप, प्याज एक वटा, गोलभेँडा एक वटा (साना टुक्रा बनाएर काट्ने), हरियो सिमी वा भेडे खुर्सानी (क्याप्सिकम) (सानो टुक्रा) एक वटा, लसुन–अदुवाको पेस्ट २० ग्राम, हरियो खुर्सानी २–३ वटा (लामो काटेको), सोया सस २ टेबुल चम्चा, टमाटर सस २ टेबुल चम्चा, चिल्ली सस (राख्न चाहनु भएमा) एक टेबुल चम्चा, नुन (स्वाद अनुसार), बेसन वा मैदा २ टेबुल चम्चा, धुलो खुर्सानी आधा चम्चा, बेसार आधा चिया चम्चा र तेल फ्राई गर्न पुग्ने जति ।

बनाउने तरिका
सोयाबिन चङ्क्स चिल्ली बनाउनका लागि पहिला सोयाबिन चङ्क्सलाई पानीमा ५–७ मिनेटसम्म उमाल्नुहोस् । उमालेपछि पानी निचोरेर चङ्क्सलाई थोरै नुन र खुर्सानी राखेर, मैदा र बेसनमा मिसाएर राम्ररी मेरिनेट गर्नुहोस् ।
त्यसपछि तेल तताएर मेरिनेट गरिएको सोयाबिन चङ्क्सलाई लो हिटमा क्रिस्पी हुने गरी फ्राई गर्नुहोस् र फ्राई गरेपछि झिकेर राख्नुहोस् ।
चिल्ली ग्रेभी बनाउन अर्को प्यानमा थोरै तेल तताएर त्यसमा नुन, अदुवा र हरियो खुर्सानी फ्राई गर्नुहोस् । त्यसपछि प्याज, गोलभेँडा र सिमी वा क्याप्सिकम हालेर हल्का फ्राई गर्नुहोस् । अब सोया सस, टमाटर सस र चिल्ली सस हालेर अलिकति पानी थपेर एकपछि पकाउने । त्यसपछि यसको ग्रेभी तयार हुन्छ । यदि ड्राई मन पर्छ भने पानी थोरै राख्न पनि सकिन्छ ।
त्यसपछि फ्राई गरेर राखिएको सोयाबिन चङ्क्सलाई तयार ग्रेभीमा मिसाएर ४–५ मिनेट लो हिटमा पकाउनुहोस् । त्यसपछि स्वादिष्ट सोयाबिन चङ्क्स चिल्ली तयार हुन्छ ।
मसरुम छोइला
मसरुम छोइला धेरैको स्वादिष्ट शाकाहारी खानामध्ये एक हो । पार्टी वा रेस्टुरेन्टहरूमा खाने गर्नु भएको मसरुम छोइला घरमै झनै मीठो बनाएर तयार पार्न सकिन्छ ।

आवश्यक सामाग्री
मसरुम (डल्लो च्याउ) २५० ग्राम (ठूलो टुक्रा काटिएको), लसुन-अदुवाको पेस्ट २० ग्राम, हरियो खुर्सानी २-३ वटा (साना टुक्रा), प्याज एक वटा (पातलो काटिएको), धुलो खुर्सानी – एक चिया चम्चा (स्वादअनुसार), टमाटर (भुटेको वा उमालेको) एक वटा (पेस्ट बनाएर), तोरीको तेल २-३ टेबुल चम्चा, नुन स्वाद अनुसार, बेसार आधा चिया चम्चा, जिराको धुलो आधा चिया चम्चा, धनियाँ सानो मुठा (पातलो काटिएको), कागतीको रस एक टेबुल चम्चा, टिमुर – आधा चिया चम्चा ।
मसरुम छोइला बनाउने तरिका
सबैभन्दा पहिले मसरुमलाई राम्ररी सफा गर्नुहोस् अनि त्यसलाई करिब ७ मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि प्यानमा हल्का तेल र बेसार हालेर ५–७ मिनेट फ्राई गर्नुहोस्, जबसम्म पानी छुटेर हल्का खैरो बन्दैन, तबसम्म फ्राई गरी रहनुस् । टमाटरलाई हल्का तेलमा भुटेर त्यसको छिल्का उतारेर पेस्ट तयार पार्नुहोस् ।
छोइलाको तयारीको लागि एउटा ठूलो भाँडामा फ्राई गरेको मसरुम राख्नुहोस् । त्यसमा लसुन अदुवाको पेस्ट, कागतीको रस, हरियो खुर्सानी, प्याज, टमाटरको पेस्ट, खुर्सानीको धुलो, बेसार, नुन, जिराको धुलो, टिमुर र काटिएको धनियाँको पात हालेर राम्रोसँग मिसाउनुहोस् । अर्को छुट्टै सानो प्यानमा तोरीको तेललाई धुवाँ निस्कने गरी तताएर मसरुसमाथि हाल्नुहोस् । अन्तमा सबै सामग्री राम्ररी मिक्स गर्नुहोस् । मिक्स गर्नका लागि सम्भव भएमा खाने सामाग्री मेरिनेट गर्न वा मोल्न प्रयोग हुने पन्जाको प्रयोग गर्नुहोस् । पन्जा नभएमा सामान्य चम्चा आदिको समेत प्रयोग गर्न सकिन्छ । तपाईँको स्वादिष्ट मसरुम छोइला अब तयार भयो ।
पनिर करी
पनिर करी बनाउन आवश्यक सामाग्री
पनिर २५० ग्राम (टुक्रा पारिएको), प्याज २ वटा (साना टुक्रा), टमाटर २ वटा (पिसेको वा टुक्रा), लसुन–अदुवाको पेस्ट २० ग्राम, हरियो खुर्सानी २ वटा (चिरिएको), बेसार आधा चिया चम्चा, धनियाँको धुलो एक चिया चम्चा, गरम मसला, बेसार आधा चिया चम्चा, धुलो खुर्सानी स्वाद अनुसार, नुन स्वाद अनुसार, तेल ३–४ टेबुल चम्चा, पानी आवश्यकता अनुसार धनियाँको पात – गार्निशको लागि मात्र) ।

बनाउने तरिका
पनिर करी बनाउँदा सबैभन्दा पहिले प्यान तताएर थोरै तेल हाल्नुहोस् । पनिरलाई सुनौलो रङ आउन्जेल हल्का फ्राई गर्नुहोस् । नरम स्वाद मन पर्नेले धेरै फ्राई नगर्दा पनि हुन्छ । मसलाको तयारी गर्न अर्को प्यानमा तेल तताउनुहोस् । त्यसमा लसुन अदुवाको पेस्ट र हरियो खुर्सानी हालेर हल्का सुनौलो पार्नुहोस् । त्यसपछि प्याज हालेर नरम गुलाबी हुने गरी फ्राई गर्नुहोस् । अब टमाटर हालेर मसलालाई राम्रोसँग पकाएर नरम पार्नुहोस् । बेसार, धनियाँको धुलो, खुर्सानीको धुलो र नुन मिलाएर मसलालाई भुट्नुहोस् । आवश्यक परे अलिकति पानी हालेर मसलालाई नजल्ने गरी राम्रोसँग मिसाउनु होस् ।
तयार मसालामा फ्राई गरेको पनिर हालेर राम्ररी मिलाउनुहोस् । अब आवश्यकता अनुसार पानी थपेर ५-७ मिनेट लो हिटमा पकाउनुहोस् । अन्तमा धनियाँको पात छरेर गार्निश गर्नुहोस् । स्वादअनुसार कागतीको रस पनि हाल्न सक्नुहुनेछ । तपाईँको पनिर करी तयार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया