काठमाडौं । दसैँ, तिहार र छठसमेतलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ६ हजार १ सय ६ जना प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ६ हजार १ सय भन्दा बढी प्रहरी परिचालन गरेको हो ।
दसैँमा अधिकांश मानिसहरू उपत्यका छाडेर बाहिर जाने भएकाले सुरक्षाका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जनाकारी दिए ।
दसैँ, तिहार, छठजस्ता चाडपर्वहरूमा चोरी, डकैती, लुटपाट, वित्तीय अपराध आदि हुने भएकाले त्यस्ता अपराध रोक्नका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । प्रवक्ता खनालले भने, ‘यी घटनाहरू हुनै नपाओस् भनेर सजगता अपनाएका छौँ र हामीले रणनीति नै बनाएर ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेका छौँ । जिल्लाका प्रहरी प्रमुखको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।’
प्रवक्ता खनालका अनुसार यस्ता अपराधका घटना नहोस् र शान्ति सुरक्षा कायम रहोस् भनेर २४ सै घण्टा पट्रोलिङ (गस्ती) गर्ने, प्रहरीको सिआरभी, क्युआरटी र साइकल समेतबाट गस्ती गर्ने लगायतको काम गरिरहेको छ । प्रहरीका अनुसार शान्ति सुरक्षा कायम राख्न सादा पोसाकमै साइकल गस्ती गर्ने, मोटरसाइकल तथा गाडीबाट गस्ती गर्ने, सादा पोसाकमै बस्ती र टोलमा समेत प्रहरी पठाएर निगरानी गर्ने लगायतको काम सुरु गरिएको छ । त्यसै गरी नाकाहरूमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरी ‘डग स्निफिङ’ समेत भइरहेको प्रहरीले जनाएको छ ।

दसैँमा घर जाने यात्रुहरूलाई समस्या नपरोस् र नठगिउन् भनेर प्रहरीले उपत्यकाका ७८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिइरहेको छ । कसैले बढी भाडा लिएमा, क्षमताभन्दा बढी यात्रु राखेमा वा दुख र हैरानी दिएमा तत्काल प्रहरीलाई खबर गर्न समेत उपत्यका प्रहरीले अनुरोध गरेको छ ।
त्यसै गरी उपत्यकाका विभिन्न स्थानमा ड्रोनबाट समेत निगरानी बढाइएको प्रहरी जनाएको छ ।
तत्कालै प्रहरी घटनास्थलमा पुग्छ : प्रवक्ता खनाल
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले कुनै स्थानमा घटना भएमा प्रहरी तत्काल पुग्ने गरी व्यवस्था मिलाइएको जनाएका छन् । खनालका अनुसार जेन जी आन्दोलनका क्रममा प्रहरीका धेरै सवारीसाधन जलेको भए पनि अहिले मोटरसाइकल र साइकलहरू पर्याप्त मात्रामा रहेको, प्रहरीका भ्यान पनि प्रदेश कार्यालय वा धेरै सवारीसाधन रहेका जिल्लाहरूबाट ल्याइएको छ । जसका कारण कहीँ कुनै सूचना आएमा वा घटना भएमा प्रहरी टोली तत्कालै घटनास्थलमा पुगी सुरक्षा प्रदान गर्ने छ ।
लुटिएका हतियारको चिन्ता
काठमाडौं उपत्यका प्रहरीको सबैभन्दा ठुलो चिन्ता चाहिँ लुटिएका हतियारका सम्बन्धमा रहेको छ । हतियारको भण्डारण रहने काठमाडौं उपत्यका प्रहरी कार्यालयबाटै ठुलो मात्रामा हातहतियार लुटिएको छ । हातहतियार लुटिएका कारण ती हातहतियारको त्रास समाजमा रहने भएकाले ती हातहतियारलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम गर्नु नै रहेको खनालले बताए । उनी भन्छन्, ‘हामीलाई ठुलो चिन्ता भनेको लुटिएका वा चोरिएका हात हतियारकै हो । किनभने ती हातहतियारले समाजमा त्रास निम्त्याउन सक्छ । त्यस कारण पनि हामी यस पटक अझै बढी चनाखो भएर सुरक्षा योजना तयार पारेका हौँ ।’
प्रवक्ता खनालका अनुसार देशका विभिन्न हिरासत र जेलबाट थुनुवा र कैदी बन्दी समेत भागेको कारण उनीहरूबाट समेत सुरक्षा खतरा रहेको छ । उनीहरूको रोजगारी वा आम्दानीको श्रोत नहुने भएकाले उनीहरू नै चोरी र लुटपाटमा समेत संलग्न हुनसक्ने प्रहरीको आशंका छ । त्यस कारण टोल छिमेकमा कसैले हतियार लुकाएको वा कुनै कैदी वा बन्दी टोल छिमेकमा आएको देखिएमा समेत प्रहरीलाई खबर गर्न खनालले आग्रह गरे ।

उनी भन्छन्, ‘टोल समाजमा कसैले हतियार लुकाएमा वा अपराधीहरू आएमा खतरा समाजलाई नै हो । त्यस कारण हतियार लुकाएको थाहा पाएमा वा फरार भएका व्यक्तिहरू आएको देखेमा तत्काल प्रहरीलाई खबर गर्नसमेत हामी आग्रह गर्दछौँ ।’
सूचना दिने व्यक्तिको जानकारी प्रहरीका समेत सीमित व्यक्तिलाई मात्रै हुने भएकाले गोपनीयताको विषयमा ढुक्क भएर सूचना दिन खनालले आग्रह गरे ।
विशेष क्षेत्रमा थप प्रहरी खटाइए
उपत्यका प्रहरी कार्यालयले बैंक, एटिएम बुथ सहकारी तथा सुनचाँदी पसल लगायतमा थप प्रहरी परिचालन गरिएको छ । चोरी, डकैती र लुटपाटमा त्यस्ता स्थानहरू बढी प्रभावित हुने भएकाले ती स्थानहरूमा थप प्रहरी परिचालन गरी गस्ती बढाइएको छ ।
त्यसै गरी दसैँमा सुनसान हुने भएकाले टोल टोलमा प्रहरी टोली र सिभिलमा समेत प्रहरी परिचालन गरिएको प्रवक्ता खनालले बताए ।

त्यस्तै विभिन्न स्थानमा प्रहरीले चेकजाँच गरी एम्बुसिङ गर्ने गरेको समेत खनालले बताए । मुख्यतः रातको समयमा प्रहरीले ठाउँ ठाउँमा शंकास्पद व्यक्तिहरूलाई रोकी चेकजाँच गर्ने गरेको र शंकास्पद सामान वा गतिविधि पाइएमा तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्ने गरिएको छ ।
सवारीसाधन पर्याप्त छन् : प्रवक्ता खनाल
जेन जी आन्दोलनका क्रममा प्रहरीका अधिकांश सवारीसाधन जलेको अवस्थामा कसरी समयमै घटनास्थल पुग्नुहुन्छ त भन्ने लोकपथको प्रश्नमा प्रवक्ता खनालले प्रहरीसँग पर्याप्त मात्रामा सवारीसाधन रहेको बताए । उनले भने, ‘हो, आन्दोलनका क्रममा प्रहरीका सवारीसाधन जलेका थिए । तर अहिले हामीसँग पर्याप्त मात्रामा सवारीसाधन छन् । कतिपय दाता वा आयातकर्ताले मोटरसाइकल दिएका छन्, कतिपयले गाडीसमेत दिएका छन् । कतिपय गाडीहरू हामीले प्रदेशस्थित कार्यालयबाट समेत ल्याएका छौँ । हामीसँग प्रशस्त मात्रामा साइकलसमेत छ, जसबाट हामीले साइकल गस्तीसमेत गरिरहेका छौँ । त्यस कारण हामीसँग पर्याप्त मात्रामा सवारीसाधन भएकाले समयमै प्रहरी पुग्ने र रेस्पोन्स गर्ने विषयमा कुनै समस्या छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया