काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि सिर्जित पछिल्लो परिस्थितिबीच चाडपर्व शान्त र सभ्य ढंगले मनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयले सार्वजनिक सूचनामार्फत चोरी, डकैती, लुटपाटलगायतका घटनाबाट बच्न उच्च सतर्कता अपनाउन र शंका लाग्ने गतिविधि देखिएमा तत्कालै स्थानीय जनप्रतिनिधि, प्रहरी वा प्रशासन कार्यालयलाई खबर गर्न अनुरोध गरेको छ ।
गैरकानुनी चिठ्ठा, जुवातासमा सहभागी नहुन र अनलाइनमार्फत हुने ठगी वा अवैध कारोबारबाट सचेत रहन कार्यालयले सचेत गराएको छ । त्यस्तै चाडपर्वमा सार्वजनिक सवारीसाधनलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन यातायात व्यवसायीलाई विशेष ध्यान दिन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
उनका अनुसार वस्तु तथा सेवा प्रदायकलाई उपभोक्ता अधिकार संरक्षण र स्वच्छ बजार प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरिएको छ । प्रशासनको अगुवाइमा जिल्ला सुरक्षा समितिबाट आवागमन र यात्रु सहजताको अनुगमन भइरहेको पनि उनले बताए ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि कुकुरसहित चेकजाँच, पैदल तथा ग्रामीण गस्ती, पेट्रोलिङ र बजार अनुगमनलाई तीव्र पारेको छ । दसैँ–तिहारलाई लक्षित गर्दै ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया