काठमाडौं । नेपालीहरूको महान चाड दसैँमा आकाशमा उड्ने चंगा र गाउँदेखि सहरसम्म हालिने विभिन्न खाले पिङको रौनकले छुट्टै वातावरण सिर्जना गर्छ ।
बालबालिकादेखि वृद्धसम्म सबैलाई उत्साह जगाउने पिङलाई मानिसहरुले मनोरञ्जनसँग मात्र होइन परम्परा र संस्कृतिसँग पनि जोडेर हेर्ने गरिन्छ ।
बालबालिका मात्र नभई युवा, वयस्कदेखि वृद्धहरूसमेत पिङप्रति आकर्षित हुने गर्दछन् । तर, पछिल्लो समय सहरमा मात्र नभई गाउँघरमा समेत पिङको संस्कृति हराउँदै गएको छ ।
नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘पिङ’ । दसैँमा पिङ खेल्ने परम्परा पनि यसै अन्तर्गत नै सुरु भएको हुनसक्छ ।
इतिहासलाई हेर्ने हो भने नेपालमा पिङ खेल्ने चलन करिब लिच्छविकाल (४औँ–९औँ शताब्दी) बाट सुरु भएको देखिन्छ ।
तत्कालीन समयमा सहरदेखि गाउँघरसम्म दसैँको मेलामा पिङ हाल्ने र खेल्ने चलन व्यापक थियो । राजा-महाराजालेसमेत प्रजासँगको सम्बन्ध बलियो बनाउन पिङ हाल्ने गरेका थिए भन्ने जनश्रुति छ । त्यसपछि मल्लकालमा दरबार वरिपरि विशेष ढंगले सजाइएका पिङ देखिन्थे भने गाउँघरमा सामूहिक श्रमबाट बनेका साधारण लिङ्गे पिङ लोकप्रिय थिए ।
लिङ्गे पिङ भनेको चार वटा लामो बाँस गाडेर माथि बलियो डोरी बाँधेर बनाइने संरचना हो । यसमा चढेर आकाश छुने अनुभवलाई मानिसहरूले जीवनमा नयाँ ऊर्जा पाउने र पाप धुने धार्मिक विश्वाससँग जोड्ने गरेका छन् । ‘वर्षमा कम्तीमा एक पटक जमिन छोडेर आकाश छुने‘ भन्ने भनाइ नै यसको सांस्कृतिक आधार हो । गाउँमा पिङ हाल्दा सबै उमेरका मानिस जुट्छन्, कसैले बाँस काट्छ, कसैले डोरी बाट्छन्, कसैले खाल्डो खन्छन् । सामूहिक रुपमा गरिने कार्य भएकाले दसैँलाई मेलमिलापको पर्व पनि भनिन्छ ।
त्यस्तै दसैँमा रोटे पिङ पनि खेल्ने चलन छ ।
यो पिङ बनाउन अलिकति बढी मिहिनेत, जनशक्ति र खर्च लाग्ने भएकाले यो पिङ त झनै लोप हुँदै गएको छ । अहिले जस्तो, फलाम र अन्य आधुनिक सामग्री प्रयोग गरेर भन्दा पनि काठ, डोरी जस्ता स्थानीय वस्तुहरू प्रयोग गरेर बनाइने रोटे पिङमा एकैसाथ धेरै जना मानिसहरुले खेल्न पाउँछन् । यद्यपि, पछिल्लो समय पिङप्रति आममानिसको चासो त्यतिसारो देखिँदैन । उसो त गाउँघरदेखि सहर बजारसम्म पिङ देखिँदैनन् । अनि, हिजो कानमा ठोक्किने ‘सरर चाचाहुइय‘ का आवाजहरु पनि बिलिन हुन पुगेका छन् ।
जे होस् दसैँमा पिङको छुट्टै महत्त्व छ । पिङ नखेली पनि दसैँ मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? सिधा र प्रष्ट तरिकाले भन्ने हो भने, पिङ र दसैँ पयार्य हुन् । दसैँमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका पिङले नै खेलेको हुन्छ । अहिलेका बालबालिकाहरु प्रविधिसँग नजिक भएका कारण त्यति महत्त्व नदिएको हुनसक्छ । पहिलेपहिले अहिलेजस्तो मनोरञ्जनका साधन अरू नहुँदा उनीहरुले पिङलाई नै मुख्य मनोरञ्जनको साधन मान्ने गरेका थिए । तर अहिले भने प्रविधिसँगै मनोरञ्जनका साधनहरु बढ्दा जेनजी पुस्तामा मनोरञ्जनका साधनका रुपमा पिङको लोकप्रीयता घट्दै गएको हो ।
त्यसो त पिङ खेल्न जाँदा नै वर्षौँदेखि भेट नभएको साथीसँग पनि सम्बन्ध पुनस्थापना गर्ने माध्यम बन्न सक्थ्यो । यसरी हेर्दा पिङको सांस्कृतिक महत्त्व साथसाथै भाइचारा स्थापना गर्न समेत भूमिका खेल्ने गरेको थियो । प्रविधिको प्रभावसँगै हामीलाई ‘डिजिटल्ली’ नजिक त ल्यायो तर भावनात्मकतामा भने कमी आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया