नेपालमा कसरी आयो चंगाको प्रचलन ? 

लोकपथ
133
Shares

काठमाडौं । चंगा दसैँ आएको संकेतका रुपमा मानिन्छ । दसैँ सुरु हुनुभन्दा अघिदेखि नै आकाशमा चंगा देखिन्छ । बालबालिकादेखि युवायुवती र वृद्धसम्म सबै उमेर समूहले रमाइलो गर्ने माध्यम बनेको चंगा दसैँसँग मात्र होइन, नेपाली समाजको सांस्कृतिक र ऐतिहासिक जीवनशैलीसँग पनि जोडिएको छ ।

विश्वका विभिन्न देशमा चंगा उडाउनुलाई धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यसहित मनोरञ्जनका रूपमा पनि लिइने गरिएको छ । कतिपय स्थानमा यसलाई शुभ कार्यसँग समेत जोडिएको पाइन्छ । ऐतिहासिक दृष्टिले हेर्दा युद्धका समयमा सन्देश पठाउन, माछा मार्न जानुअघि वा अन्य परम्परागत गतिविधिमा समेत चंगाको प्रयोग हुने गरेको पाइन्छ ।

नेपालमा  चंगा उडाउनुलाई धार्मिक कार्यको रूपमा मान्ने परम्परा छ । लोककथा र किंवदन्तीअनुसार वर्षायाममा प्रशस्त पानी परिसकेपछि र धान पाक्ने बेला भइसकेपछि वर्षाका राजा इन्द्रलाई ‘अब पानी आवश्यक छैन’ भन्ने सन्देश दिन चंगा उडाउन थालिएको विश्वास गरिन्छ । यसैले पनि ‘चंगा उडाएमा पानी पर्दैन’ भन्ने जनविश्वास अझै प्रचलित छ ।

चंगा कसरी आयो ?

इतिहासकारहरूका अनुसार छिमेकी देखि चंगा भारत र चीन हुँदै नेपालमा आएको हो । प्राचीन समयमा भारतमा धार्मिक मेलामा चंगा उडाउन सुरु गरिएको र पछि दक्षिण एशियाका अन्य मुलुकमा फैलिएको उल्लेख पाइन्छ । नेपालमा भने यो परम्परा मुख्यतया दसैँ-तिहारसँग जोडिएर आजसम्म आइपुगेको हो ।

कहिले खेलिन्छ ?

चंगा उडाउनका लागि असोज र कार्तिक महिनालाई उपयुक्त मानिन्छ । यो समयमा आकाश सफा, हावायुक्त र मौसम सुहाउँदो हुन्छ । दसैँ-तिहारको विद्यालय र कार्यालय बन्द हुने भएकाले परिवार, साथीभाइ र छिमेकी मिलेर आकाशमा चंगा उडाउनु रमाइलोको विशेष अवसर हुन्छ ।

जापानमा प्रत्येक नयाँ वर्षको अवसरमा शुभ दिन मान्दै चंगा उडाउने परम्परा छ । 

चीनमा चंगा उडाउनुलाई दुष्टात्मा हटाउने उपायका रूपमा लिइन्छ । कोरियामा पनि  चंगाको प्रयोग दुर्भाग्य र दुष्टात्मा टार्ने विश्वाससँग जोडिएको छ । त्यस्तै, श्रीलंका र थाइल्यान्डमा  चंगा उडाउँदा स्वर्ग र पृथ्वीबिच सम्पर्क हुन्छ र मानिस मरेपछि स्वर्ग पुग्छ भन्ने जनविश्वास रहेको पाइन्छ । 

चंगाको सांस्कृतिक महत्त्व

नेपाली समाजमा चंगा केवल खेल होइन, मेलमिलाप र खुसी बाँड्ने एउटा माध्यम हो । दसैँ नजिकिँदै गर्दा गाउँघरदेखि सहरसम्म आकाश रंगिन चंगाले भरिन्छ । यो चलनले परिवारबिच सुमधुर सम्बन्ध बढाउने, साथीभाइबिच मित्रता बलियो बनाउने र उत्सवलाई अझ रमाइलो बनाउने काम गर्छ । 

चंगा उडाउने क्रममा ‘लट्टै कट्यो, काट‘ भन्ने आवाजले छिमेकभरि उत्साह फैलिन्छ । बालबालिकाले रमाइलो गर्दै चंगा पछ्याउने, युवाले प्रतिस्पर्धात्मक ढंगले आकाशमा चंगा उडाउन खोज्ने र वृद्धले परम्परागत खेल सम्झेर रमाउने दृश्य दसैँमा सामान्य देखिन्छ ।

आधुनिक प्रभाव

आधुनिक जीवनशैलीसँगै चंगा उडाउनुको स्वरूपमा पनि धेरै परिवर्तन आएको छ । पहिले–पहिले मानिसहरूले बाँस, कागज, धागो, गोंदजस्ता सामग्री प्रयोग गरेर घरमै चंगा बनाउने गरेका थिए । आजकल रेडिमेट चंगा बजारमा सजिलै पाइने हुँदा घरमै बनाएर उडाउनुपर्ने बाध्यता कम भएको छ । तर अझै पनि गाउँघरमा भने स्थानीय सामग्री प्रयोग गरेर चंगा बनाउने परम्परा जीवितै छ । मोबाइल, कम्प्युटरजस्ता आधुनिक मनोरञ्जनको बिचमा पनि दसैँमा चंगा उडाउने परम्परा हराएको छैन ।

सुरक्षित खेल्नुपर्ने आवश्यकता

दसैँमा चंगा खेल्दा केही दुर्घटनाहरू हुने गरेको पाइन्छ । विशेष गरी बिजुलीको तारमा चंगा अड्किनु, मोटरसाइकल वा सवारी साधन चलाउँदा डोरीमा अड्किनु जस्ता घटना बढ्ने गर्छन् । त्यसैले चंगा उडाउँदा खुला स्थान रोज्ने, विद्युत् तार नजिक नगर्ने र बालबालिकालाई अभिभावकको निगरानीमा खेल्न दिने सन्देशसमेत सम्बन्धित निकायले दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?