मासु र कोल्ड ड्रिङ्सको मिश्रण : ल्याउन सक्छ गम्भीर स्वास्थ्य संकट

काठमाडौं । दसैँको धार्मिक, सांस्कृतिक महत्त्व आफ्नै छ । दसैँसँगै जोडिएर आउँछ, खानपान पनि । खास दसैँ भन्ने बित्तिकै मासु र मासुजन्य परिकार आफैँ जोडिएर आउँछ । रमाइलो रमझममा गरिएको खानपिन नै कालन्तरमा शरीरलाई हानी गर्ने कारक बन्न सक्छ । 

दसैँमा मात्र होइन, अन्य चाडपर्व र जमघटमा पनि मासुजन्य परिकारसँग कोक, फ्यान्टा, पेप्सी लगायतका कोल्ड डिङ्क्स पनि अनिवार्य जस्तै भएको छ । मासुसँग यस्ता पेय पदार्थ खाँदा चिल्लो काट्छ र मासुलाई पचाउँछ भन्ने मानसिकता भएको पाइन्छ ।

दसैँका लागि मुख्य मानिने मासुजन्य परिकारका लागि खसी-बोका, कुखुरा र राँगा लगायत काट्ने गरिन्छ ।  खाँदा मिठो मानिने रातो मासु समेत प्रयोग गरिन्छ, जसमा चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ ।

यसले विशेषगरी मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी समस्या वा अन्य दीर्घरोग भएका मानिसलाई समस्या निम्त्याउने गर्दछ । त्यति मात्र होइन यसले मुटु रोगको खतरा समेत निम्त्याउँछ । 

मासु खाएर यस्ता पेय पदार्थ पिउँदा तत्काल शरीरमा शितलता र आनन्द प्रदान गर्ने गर्छ । तर यस्ता पेय पदार्थमा कार्बोनेटेड पानी, चिनी, हानिकारक एसिड र आर्टिफिसियल कलर धेरै मात्रामा पाइन्छ, जुन शरीरका लागि निकै हानिकारक हुन्छ । यस्ता पेय पदार्थले पेटमा अपच हुने, ग्यास भरिने, जलन र ग्यास्ट्राइटिसको समस्या उत्पन्न गर्न सक्छ ।

मेडिसिटी अस्पतालमा कार्यरत पोषणविद् डा. रुजु खड्काका अनुसार अत्यधिक मासु सेवनले अपच, झाडापखाला, वान्ता, ग्यास्ट्रिक जस्ता समस्या ल्याउन सक्छ । त्यसैले थोरै मात्रामा खाने, बोसो कम भएको मासु रोज्ने, फाइबरयुक्त खाना जस्तै काँक्रो, गाजर, मिक्स भेजिटेबलसहित खाने, पर्याप्त पानी पिउने, कोक-फेन्टाजस्ता पेय पदार्थ छोडेर कागती पानी, मोही पिउने गर्नुपर्दछ  ।

यसले पेटलाई भारी नबनाई खानेकुरा सजिलै पचाउन मद्दत गर्छ र ग्यास्ट्राइटिस जस्ता समस्या कम गर्छ ।

खासगरी रातो मासु जसमा, चिल्लो र कोलेस्ट्रोल धेरै हुन्छ । यस्तो मासुले मुटु रोगको जोखिम बढाउँछ । त्यसैबेला कोल्ड डिङ्क्स खाँदा शरीरमा चिनी, कार्बोनेटेड पानी र हानिकारक रसायन थपिन्छन् । जसले पेटमा ग्यास, अपच र पेटमा जलन ल्याउँछ । मासु आफैँ पचाउन गाह्रो हुने हुँदा त्यसमाथि कोल्ड डिङ्क्स थप्दा पेटमा एसिड बढ्छ र स्वास्थ्यलाई अझ खराब बनाउँछ । त्यसैले मासु र कोल्ड डिङ्क्स एकसाथ खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

ग्यास्ट्रोलोजिस्ट प्राध्यापक डाक्टर विधान निधि पौडेल भन्छन्, ‘मासु पचाउन समय लाग्छ, कोल्ड डिङ्क्समा भएको अम्ल र कार्बोनेसनले पेटमा समस्या बढाउँछ ।’ 

दसैँ जस्तो रमाइलोको समयमा हामीले विभिन्न स्वाद र परिकारसँगै हरियो साग पात गाजर मुला जस्ता सलादहरुको पनि सेवन गर्ने गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउन समेत विशेषज्ञहरुको सुझाव रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?