दसैँका १० रोचक तथ्यहरु

लोकपथ
49
Shares

काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व दसैँ मनाउने आ-आफ्नै तौरतरिकाहरू छन् । हिन्दू भित्रका विभिन्न जातिहरूले विविध तरिकाले दसैँ पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दू र नेपाली हिन्दूहरूको दसैँ मनाउने शैली भिन्न छ ।

दसैँलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दूहरू नै हुन् । तर पनि जातजाति र भूगोल अनुसार दसैँ मनाउने विधि फरक फरक छन् । यद्यपि दसैँका विशेषता र आकर्षणहरू भने एउटै र उस्तै छन् ।

वास्तवमा दसैँ पर्व मनाउने बेलाको मौसम उपयुक्त र रमाइलो हुन्छ । शरद ऋतु भएकाले यस बेलाको समय घमाइलो मानिन्छ । वर्षा थामिएर न जाडो, न गर्मीको वातावरण हुने भएकाले दसैँलाई उल्लासका साथ मनाउने प्रचलन छ । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण दसैँलाई मानिन्छ । नाता सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसर पनि दसैँले प्रदान गर्दछ ।

दसैँ केवल रमाइलो मात्रै नभई पारिवारिक एकता, सांस्कृतिक पहिचान र सामाजिक मेलमिलापको पर्व पनि हो । यहाँ दसैँका १० रमाइला पाटाहरू प्रस्तुत गरिएको छ ।

१.घटस्थापना र जमरा राख्ने परम्परा

दसैँको सुरुमा घटस्थापना र जमरा राख्ने परम्परा बालबालिका, युवा र बृद्ध सबैका लागि रमाइलो क्षणको रूपमा लिइन्छ । घरमा घटस्थापना हुने दिन बिहानैदेखि शुद्ध वस्त्रमा स्नान गरेर पूजा, धूपबत्ती बाल्ने र मन्त्र उच्चारण गर्ने माहोल बनाइन्छ । नदी वा चौरबाट शुद्ध माटो संकलन गरेर जमरा राख्ने प्रथा बालबालिका र परिवारका लागि रमाइलो अनुभव हो ।

२.मासु र अन्य परिकारमा आकर्षण
नेपालीहरूको दसैँमा मासुसहित विशेष परिकार खाने चलन प्रचलित छ । गाउँ–सहर दुवैमा घर–घरमा विशेष भोजनको तयारी हुन्छ । विशेष गरी युवा र बालबालिकाले मासुको स्वाद र घरको पकवानसँग रमाइलो अनुभव गर्ने गर्दछन् ।

३.परिवार र आफन्त भेटघाट
दसैँ केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र नभई परिवार र आफन्तबिच भेटघाट गर्ने अवसरका रूपमा पनि स्थापित भएको छ । चाडको मुख्य दिन वृद्ध तथा बाबुआमाबाट आशीर्वाद लिन मानिसहरू आफन्तको घर पुग्छन् ।

४.टीका र जमरा लगाउने अनि आर्शिवाद थाप्ने

दसैँमा रातो वा सेतो टीका लगाउने र जमरा सिउरिने चलन छ । टीका र जमरा दसैँको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा टिपेर टीकाका साथ लगाउने गरिन्छ । टीका र जमरा अन्नवाट बनिने र दही पशुपालनको प्रतीक भएकोले यसलाई अहिले वैज्ञानिक ढंगबाट कृषि उपजको परिचय गराउने पर्वको रूपमा लिइने गरेको छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । परिवारमा टीका लगाइ आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग समेत टीका लगाउन जाने परम्परा छ । यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिशासुरहरुको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रूप धारण गरेर उनीहरूलाई समाप्त पारेर विजय उत्सव मनाएको दिन भनेर विजय दशमीमा रातो टिका र जमरा लगाएको पौराणिक मान्यता छ ।

५.नयाँ लुगा
दसैँमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर टेलर्समा सिलाउन दिने होडबाजी नै चल्छ । वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दसैँमा नै नयाँ लुगा किन्ने प्रचलन रहीआएको बताइन्छ । बालबालिकाहरूलाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ । त्यसैले दसैँको समयमा नयाँ कपडाहरूको बजार चम्किन्छ ।

६. लिङ्गे र रोटे पिङ

गाउँघरतिर मात्र होइन शहर बजारमा पनि दसैँ आउनु पूर्व नै पिङ लगाउने चलन बढ्न थालेको छ । गाउँघरतिर पाखा बारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पाएक पर्ने स्थानमा लिङ्गे पिङ लगाउने चलन छ । हिजोआज शहरतिर पनि पैसा उठाएर पिङ लगाउने चलन बढेको छ । विजयादशमीको दिन मान्यजनको हातको टिका लगाएर केही क्षण भए पनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ । पहिले पहिले काठको रोटे पिङ हाल्ने चलन रहे पनि हाल भने यो बिस्तारै लोप हुन थालेको छ ।

७. जुवातास र अन्य मनोरञ्जनात्मक खेल खेल्ने
साथीभाइ र परिवारका सदस्यहरूले घरमा बसेर जुवाताससहित अन्य खेलहरु खेल्ने समेत परम्परा रहेको छ । यसले मात्र मनोरञ्जन नभई सम्बन्ध मजबुत पार्ने र मेलमिलाप बढाउने काम पनि गर्दछ । यद्यपि सरकारले जुवातासलाई बन्देज गरेका कारण रमाइलो भन्दा बाहिर तडकभडक नगर्न समेत भनेको छ ।

८. मेला महोत्सव
खासगरी दसैँ लगायतका पर्वहरु सुरु भएसँगै गाउँदेखि शहरसम्म मेला महोत्सवहरु हुने गरेका छन् । विभिन्न क्लब तथा समूहहरुले मेला महोत्सवको आयोजना गरी रमाइलो गर्ने प्रचलन रहिआएको छ । मेलामहोत्सव पुराना साथीहरु भेटघाट गर्नेदेखि व्यापारीहरुलाई व्यापार गर्ने समेतको अवसर समेत हो ।

९. चंगा चेट
दसैँमा चंगा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । विशेष गरेर शहर बजारमा चंगा उडाएर दसैँको धुमधाम स्वागत गरिन्छ । पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हाते चंगा उडाइथ्यो । खुल्ला चौर, कौशी तथा घरको छतमा उभिएर चंगा चेटको मज्जा लिने चलन छ । उहिले भन्दा अहिले खा उढाउने प्रचलन बढ्दै गएको छ ।

शरद ऋतुको सुरुवातीमा पश्चिबाट सरर हावा चल्ने भएको हुँदा चाडबाडको मौसम चङ्गा उडाउनका लागि उपयुक्त हुन्छ । दसैँका बेला चंगा उढाउने प्रतियोगिता नै हुन्छ । उहिले आकाशमा चंगा उडायो भने वरुण देवताले पानी पार्छन र धान बिग्रन्छ भनेर बुढापाकाले उढाउन दिँदैन थिए । यद्यपि, दसैँको मौसम उपयुक्त हुने भएकाले रमाइलोका लागि चंगा उढाउने चलन चलेको मानिन्छ ।

१०. मालाश्री धुन
गाउँघरमा मालाश्री धुन गुन्जिन थालेपछि दसैँ आएको महसुस हुन्छ । घटस्थापनाको दिनदेखि रेडियो, टिभी एवं मोबाइलमा समेत यही धुनले वातावरण मनमोहक बनाउँछ । पञ्चेबाजा, मादल, सारंगी, मुरली लगायतका बाजाहरूबाट मालाश्री धुन निकालिन्छ । दसैँ पर्वले धार्मिक, सांस्कृतिक, पारिवारिक र सामाजिक आयाम सबैलाई समेटेको भएकाले नेपाली समाजमा यसको महत्त्व अपूरणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?