दसैँको रमझम : खानपानमा पनि ध्यान दिउँ

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ विभिन्न कोणबाट महत्वपूर्ण छ । साथीभाईदेखि आफन्त भेटघाट, टीका, दक्षिणा र आशिर्वादसँगसँगै खानपान पनि जोडिएर आउँछ । दसैँ धार्मिक र सांस्कृतिक हिसाबले मात्र महत्वपूर्ण नभइ पारिवारिक भेटघाट, आपसी मेलमिलाप, सुभेच्छासहित खुसी साटासाट गर्ने पर्व समेत हो । दसैँमा मासुका विभिन्न परिकारदेखि सबै परिवार जम्मा हुँदा मिठामिठा परिकारहरु समेत पाक्ने गर्दछन् ।

दसैँमा मात्र नभएर अन्य पर्वहरुमा समेत परम्परादेखि चलिआएका विभिन्न परिकारहरु खाने गरिन्छ । अन्य समयभन्दा दसैँमा बढी मासु, गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम नेपालीको बानी छ । मासुसँगै मदिरादेखि अन्य कोल्ड ड्रिङ्ग्स समेत नेपालीहरुको भान्सामा पुग्ने गर्दछ । दसैँको रमझमले कतै तपाईँको स्वास्थ्य त बिगारिरहेको छैन ? त्यसतर्फ भने ध्यान दिनुपर्दछ ।

डा. रुजु खड्का । तस्वीर : सामाजिक सञ्जाल

मेडिसिटी हस्पिटलकी पोषणविद् डा.रुजु खड्काका अनुसार, दसैँमा खानपानमै समस्या हुने भएकाले मधुमेहका बिरामीहरूले विशेष ख्याल राख्नुपर्छ । दसैँमा माछा–मासु नखाने भन्ने होइन, तर कसरी र कति मात्रामा खाने भन्ने हो । धेरै तेल, मसला प्रयोग गरी भुटेर खाने मासुले स्वास्थ्यमा नकारात्मक असर गर्छ । त्यसैले मासु ग्रिल गरेर वा स्टिम गरेर खान सकिन्छ ।

अत्यधिक मासु सेवनले अपच, झाडापखाला, वान्ता, ग्यास्ट्रिक जस्ता समस्या ल्याउन सक्छ । त्यसैले थोरै मात्रामा खाने, बोसो कम भएको मासु रोज्ने, फाइबरयुक्त खाना जस्तै काक्रो, गाजर, मिक्स भेजिटेबलसहित खाने, पर्याप्त पानी पिउने, कोकफेन्ट जस्ता पेय पदार्थ छोडेर कागती पानी, मोही लगायत केमिकलरहित पेय पदार्थमा जोड दिन समेत पोषणविद् खड्काको भनाइ रहेको छ ।

अत्यधिक मासु सेवनको जोखिम

मासु स्वादका लागि मात्र नभई पोषणका लागि पनि आवश्यक भए पनि अत्यधिक सेवनले स्वास्थ्यलाई हानी पुर्‍याउँछ । दसैँमा दीर्घ रोगीले धेरै मासु खाँदा पचाउन गाह्रो हुने र पखाला, कब्जियत, वान्ता जस्ता समस्या देखिन्छन् ।

गुलियो खानाको असर
चिनीको प्रयोग गरी बनाइएको परिकारहरुको अति सेवनले मूड बिगार्ने, तनाव बढाउने, शरीर सुन्निने, तौल बढाउने जोखिम हुन्छ । त्यसैले चाडपर्वमा पनि चिनी कम गर्नुपर्ने, प्रोसेस्ड खाना छोड्नुपर्नेमा डा. खड्काको सुझाव छ । गुलियो खानै नहुने होइन, तर मात्रा मिलाएर खानु उपयुक्त हुन्छ । मधुमेह, फ्याटिलिभर, उच्च रक्तचापका बिरामीले भने सेवन नगर्न सल्लाह दिन उनको आग्रह रहेको छ ।

मोटोपनाको समस्या बढ्न सक्छ
दसैँजस्ता चाडमा मीठमिठा परिकार खाएर बस्दा त्यसले शरिरमा नकारात्मक असर पुर्‍याउँछ । चाडपर्वको समयमा खास काम नहुने हुँदा शरिरमा जम्मा भएको क्यालोरी खर्च हुन पाउँदैन । चाडपर्वका बेला भेटघाट हुँदा घरमा र आफन्तकहाँ पाइने खानेकुरामा ‘नाई’ भन्न पनि नसकिने र खाँदा पनि शरिरमा समस्या हुने गर्दछ । त्यसकारण तौल नियन्त्रणका लागि आफ्नो शरिरको आवश्यक्ता अनुसार खाने मात्रा बुझेर खाने र आवश्यक्ता अनुसार व्यायम समेन गर्नुपर्दछ ।

खसी राँगाको मासुको तुलनामा कुखुरा र माछा कतिको लाभदायी ?
मासु प्रोटिनको प्रमुख स्रोत भए पनि खसी र राँगाको मासुमा बढी बोसो हुने भएकाले मुटुरोग, उच्च रक्तचाप भएका बिरामीलाई हानिकारक हुन्छ । त्यसको तुलनामा कुखुरा र माछा खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

मधुमेह, उच्च रक्तचाप र मुटुरोगीले सतर्कता अपनाउनुपर्छ
दसैँमा मधुमेहका बिरामीले खाना धेरै मात्रामा खानु हुँदैन । विशेष गरी खसीको मासु, भात, चिउरा, आलुको अचार कार्बोहाइड्रेट बढी भएकाले यसले सुगर बढाउँछ । यस्ता बिरामीले थोरै नुन, तेल, मसला प्रयोग गरेर मात्र खानु उपयुक्त हुन्छ ।

मासु पचाउन कति समय लाग्छ ?

मासु प्रोटिन र फ्याटको प्रमुख स्रोत भएकाले पचाउन समय लाग्छ । रातो मासु, सेतो मासु र प्रशोधित मासुमा फरक हुन्छ । बोसोयुक्त वा डीप फ्राई गरिएको मासु पचाउन समय लाग्छ । सामान्यतया मानव शरिरले मासु पचाउन ३ देखि ४ घण्टा लाग्छ । तर कति छिटो पच्ने भन्ने कुरा खानाको प्रकार, पकाउने तरिका र शारीरिक क्रियाकलापमा भर पर्छ ।

यसरी चाडपर्व मनाउने र रमाउने बहानामा कतै हाम्रो शरिरलाई असर त गरिरहेको छैन ? यो सुन्दा सामान्य लाग्ने तर हामीलाई अति उपयोगी विषय हो । यदी हामीले चाडपर्वमा भुलेर पनि आफ्नो शरिरको ख्याल गर्न सकेनौँ भने त्यसले हामीलाई थप असर पुर्‍याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?