पूँजीबजार सुधार सुझावपछि नेप्से उकासिँदै, २६६३ अंक पार

लोकपथ
133
Shares

 काठमाडौं । अन्तरिम सरकारले गठन गरेको पूँजीबजार सुधार सुझाव कार्यदलले तत्कालै कार्यान्वयन गर्नुपर्ने सुझाव सार्वजनिक गरेपछि शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । 

कार्यदलले शेयरबजारमा लागू गरिएको ‘एकल ग्राहक सीमा’ हटाउन र बैंक तथा वित्तीय संस्थाले खरिद गरेको शेयर एक वर्षसम्म अनिवार्य ‘होल्ड’ गर्नुपर्ने व्यवस्था तत्काल हटाउन सिफारिस गरेको हो ।

कार्यदलले बजार सुधारका लागि तत्काल, मध्यकाल र दीर्घकालीन योजना प्रस्तुत गरेको छ । लगानीकर्ताले कार्यदलका सुझाव सरकारले कार्यान्वयन गर्ने आशा राखेकाले बजार बढेको विश्लेषण गरिएको छ ।

आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ०.४३ प्रतिशतले बढ्दै २६६३.५१ अंकमा पुगेको छ । यद्यपि दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दसैँपश्चात् हुने भएकाले कारोबार रकम भने कम देखिएको हो ।

समूहगत परिसूचकमा बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०।१०, जलविद्युत् ०.७०, लगानी ०.१४, जीवन बीमा ०.८०, उत्पादनमूलक ०।५१, लघुवित्त ०.५९, सामूहिक लगानी कोष ०.९६ र निर्जीवन बीमा ०.३२ प्रतिशतले बढेका छन् । तर, अन्य ०.१४, व्यापार १.२८ र होटल समूह ०.१५ प्रतिशतले घटेका छन् ।

आइतबारको कारोबारमा ३१४ कम्पनीका ७५ लाख ११ हजार कित्ता शेयर खरिद–बिक्री भएका छन् । ३९ हजार ८५९ पटकको कारोबारबाट २ अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । यस दिन ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?